खोटाङ, माघ १२ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा आइतबारसम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले उपाधि जितेको हो ।
उपाधि विजेता नेर्पाले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जिल्लाभित्रका छ तथा बाहिरी जिल्लाका चारवटा फुटबल क्लबगरी दश टोलीको सहभागिता रहेको प्रतियोगिताका उपविजेता गछिया युवा समाज मोरङले नगद रु एक लाख ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका सेमिफाइनलिस्ट दुई समूह खारम्बु स्पोर्टस् क्लब खार्मी र आयोजक बुइपा–११ स्पोर्टस् क्बल बुइपाले नगद रु ५०/५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । हरेक खेलमा म्यान अफ दि म्याच घोषणा गरिएको प्रथम आमन्त्रित फुटबल प्रतियोगिता अवधिभरका सर्वोत्कृष्ट खेलाडीमा नेर्पा स्पोर्टस् क्लबका सलिन ढकाललाई नगद रु ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका सचिव रोशन चाम्लिङले जानकारी दिनुभयो । रासस