विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ १२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीको चारवटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ सात जना महिला राजनीतिकदलको टिकट लिएर उम्मेदवार बन्नुभएको छ ।
जिल्लाको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पा चौधरी र नागरिक उन्नमुक्ति पार्टीबाट टिका लक्ष्मी चौधरी, क्षेत्र नम्बर २ मा नेपाल जनता पार्टीका तर्फबाट पूर्व सांसद रञ्जु कुमारी ठाकुर र नेपाल मजदुर किसान पार्टीबाट निलम कुमारी यादव, क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टीबाट रुबी कुमारी कर्ण, जनता समाजवादी पार्टी नेपालबाट बबि सिंह यादव र आम जनता पार्टीबाट अनिता कुमारी चौधरी उम्मेदवार बन्नुभएको हो ।
क्षेत्र नम्बर ३ मा भने कुनै राजनीतिक दलले महिलालाई उम्मेदवार बनाएनन् । प्रत्यक्षतर्फ १०२ जना उम्मेदवार मध्ये २० महिला चुनावी प्रतिस्पर्धामा होमिनुभएकोमा सातजना राजनीतिक दलबाट र बाँकी १३ जना स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
क्षेत्र नम्बर १ बाट राम कुमारी खङ्ग, रिजवाना खातुन र उम्दा देवी सदा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिनुभएको छ । यस्तै क्षेत्र नम्बर २ बाट अम्बिका देवी साफी, शुशिला कुमारी साह र साधना दास स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिनुभएको हो ।
क्षेत्र नम्बर ३ मा कौशल कुमारी चौधरी, रजियादेवी सदा, सरिता कुमारी यादव र कोशीला देवी पासमान स्वतन्त्र रुपमा उम्मेदवार बन्नुभएको हो । यस्तै क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा प्रेम कुमारी महरा चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिनुभएको छ ।
सप्तरीमा १०२ जना उम्मेदवारमध्ये सातजना महिला मात्र राजनीतिक दलको टिकटबाट उम्मेदवार बन्नु सरकारी नीतिमा कमजोरी भएको बताउनुहुन्छ मधेशी आयेगका सदस्य आभासेतु सिंह । उहाँले सरकारले प्रत्यक्षतर्फ महिलाहरुका लागि आरिक्षत सिट घोषणा नगरेसम्म राजनीतिक दलको प्राथमिकतामा महिला उम्मेदवार नपर्ने बताउनुभयो । “महिलासँग आर्थिक अभाव छ, आत्मविश्वासको पनि कमी छ र राजनीतिकदलको प्राथमिकतामा पनि महिला छैन” सिंहले भन्नुभयो ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले महिला प्राथमिकतामा नपर्नु समावेशी र राजनीतिक दलको सिद्धान्त अनुकूल नभएको बताउनुभयो । उहाँले राजनीतिक दलहरु भित्र व्यक्तिवादी सोच हावी भएको कारण प्रत्यक्ष तर्फ महिलालाई उम्मेदवार नबनाएको तर्क गर्नुभयो ।
सप्तरीमा २०४८ पछि भएको प्रतिनिधिसभा निर्वाचनमा २०५६ राप्रपा र २०६४ मा मधेशी जनाधिकार फोरम नेपाल हाल (जसपा नेपाल) का नेता रेणु यादव चुनाव जित्ने एकमात्र महिला हुनुहुन्छ ।
यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट जसपा नेपालका नवल किशोर साह, २ बाट जनमत पार्टीका अध्यक्ष डा सिके राउत, ३ र ४ बाट नेपाली कांग्रेसका क्रमशः दिनेश कुमार यादव र तेजुलाल चौधरी गरी चारै जना पुरुष उम्मेदवारले चुनाव जित्नु भएको थियो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको चार वटै क्षेत्रमा गरी कुल चार लाख ४६ हजार चार सय दुई मतदाता छन् । जसमध्ये महिला मतदाताको सङ्ख्या दुई लाख १३ हजार दुई सय ८३ रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जानकारी दिनुभयो ।