मुसीकोट समाचारदाता
रुकुमपश्चिम, माघ १२ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले घरदैलो र सामूहिक रूपमा भूकम्प प्रभावितसँग आवास पुनर्निर्माणका लागि सम्झौता गर्ने कार्यलाई प्राथमिकता दिएको छ । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माण, प्रबलीकरण र मर्मतका लागि गाउँपालिकाले सम्झौताको कार्यलाई तीव्र बनाएको हो ।
गाउँपालिकाका सहायक सबइन्जिनियर गोपाल डाँगीका अनुसार वडा नं. १० बाट सुरु गरिएको सम्झौता कार्य अन्य वडाका समेत गरेर हालसम्म १११ जना लाभग्राहीसँग सम्पन्न गरिएको छ । हालसम्म वडा नं. १ मा आठ जना, वडा नं. २ मा सात जना, वडा नं. ३ मा नौ जना, वडा नं. ६ मा तीन जना र वडा नं. ७ मा चार जना लाभग्राहीसँग सम्झौता सम्पन्न भएको छ । त्यसै गरी वडा नं. ८ मा २३ जना, वडा नं. ९ मा तीन जना, १० नम्बरमा २७ र ११ नम्बरमा २७ जनासँग पुनर्निर्माणका लागि सम्झौता गरिएको छ ।
अधिकांश लाभग्राहीको घरदैलोमै गएर सम्झौता गरिएको सबइन्जिनियर डाँगीले जानकारी दिनुभयो । जनप्रतिनिधिको उपस्थितिमा घरदैलौमै सम्झौता हुँदा लाभग्राहीलाई सहज भएको छ । केही लाभग्राहीसँग भने वडा कार्यालयमा बोलाएर सामूहिक सम्झौता पनि गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काका अनुसार विस्तृत क्षति आकलन (डिडिए) प्रतिवेदन अनुसार क्रमैसँग वडा अनुसार भूकम्प प्रभावितसँग सम्झौता गरिने छ । कार्यविधि अनुसार मापदण्ड पुगेका अन्य लाभग्राहीसँग क्रमश सम्झौता हुने उहाँले बताउनुभयो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उलपब्ध गराएको डिडिए प्रतिवेदन अनुसार हालसम्म गाउँपालिकामा दुई हजार ९३६ निजी आवास पुनर्निर्माणमा परेका छन् भने प्रबलीकरण ९० र सामान्य मर्मतमा एक हजार ८५ आवास छनोट भएका छन् । त्यसै गरी क्षति नभएका २७०, एकभन्दा धेरै घर भएका एक हजार ६४ र थप छलफलमा रहेका २६७ घर रहेका छन् ।
हालसम्म जम्मा पाँच हजार ७१२ लाभग्राहीको प्रतिवेदन प्राप्त भएको छ भने पुनर्निर्माणका लागि छुटलगायतका गुनासा सम्बोधन हुन बाँकी छन् ।