• १२ माघ २०८२, सोमबार

नयाँ दलले पनि बनाएनन् महिलालाई उम्मेदवार

blog

बेलौरी समाचारदाता

बेलौरी (कञ्चनपुर), माघ १२ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता अत्यधिक रहेका छन् तर प्रतिनिधि सभा सदस्यका लागि भने चार प्रतिशत महिला उम्मेदवार मात्रै चुनावी मैदानमा उत्रिएका छन् । नयाँ दलले समेत आगामी निर्वाचनमा महिलालाई स्थान दिएको देखिएन । 

क्षेत्र नम्बर १ मा ठुला दलबाट एक जना मात्रै महिला उम्मेदवार बन्दा नयाँ तथा अन्य दलले भने खासै महिलालाई उम्मेदवार बनाएका छैनन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायत पार्टीले महिलालाई उम्मेदवार बनाएका छैनन् । नेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नम्बर १ बाट महिलालाई उम्मेदवार बनाएको छ । 

कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रकाशित अन्तिम नामावली अनुसार क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीबाट बिना मगर र आमजनता पार्टीबाट सीता विश्वकर्मा उम्मेदवार हुनुहुन्छ । यसै गरी सोही क्षेत्रबाट रूपादेवी विष्ट र मञ्जुदेवी सुनारले स्वतन्त्रबाट उम्मेदवार बन्नुभएको छ । क्षेत्र नम्बर १ मा ५१ हजार ५८८ महिला मतदाता हुनुहुन्छ । यहाँ पुरुष मतदाताभन्दा एक हजार ४५२ जना महिला मतदाता बढी हुनुहुन्छ । यस क्षेत्रमा जम्मा एक लाख एक हजार ७२४ मतदाता छन् । नेकपा (एमाले) का केन्द्रीय सदस्य कमला बोहोराले महिला मतदाता बढी रहेका तर महिलालाई अवसर नै प्रदान नगर्ने परिपाटी गलत रहेको बताउनुभयो । महिलालाई पनि समान हक प्रदान गरेर मुलुकको हितमा अगाडि बढ्न दलहरूले महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बेलौरी–८ का महिला मतदाता रीता रानाले बताउनुभयो । 

यसै गरी निर्वाचन क्षेत्र नम्बर २ बाट महिला उम्मेदवार एक जना मात्रै हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) बाट प्रेमवती राना उम्मेदवार हुनुहुन्छ । क्षेत्र नम्बर २ मा ठुला तथा नयाँ दलले समेत महिलालाई उम्मेदवार बनाएका छैनन् । क्षेत्र नम्बर २ मा ३५ हजार ६५५ महिला मतदाता हुनुहुन्छ भने ३३ हजार ९९१ गरी ६९ हजार ६४६ मतदाता रहेका छन् । यहाँ महिला मतदाता एक हजार ६६४ जना बढी हुनुहुन्छ । 

यसै गरी निर्वाचन क्षेत्र नम्बर ३ बाट पनि एक जना मात्रै महिला उम्मेदवार बन्नुभएको छ । आमजनता पार्टी (एकल चुनाव चिह्न) बाट लक्ष्मीकुमारी विष्ट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएको हो । क्षेत्र नम्बर ३ मा समेत ठुला दलसहितका अन्य दलले भने महिलालाई उम्मेदवार बनाएका छैनन् । यहाँ १६ जना पुरुष र एक जना मात्रै महिला उम्मेदवार हुनुहुन्छ ।  

क्षेत्र नम्बर ३ मा महिला मतदाता सङ्ख्या भने बढी नै रहेको छ । यहाँको भीमदत्त नगरपालिकामा ३६ हजार ८६३ महिला र ३५ हजार ९३७ पुरुष गरी ७२ हजार आठ सय मतदाता हुनुहुन्छ । यसै गरी दोधारा चाँदनी नगरपालिकामा १३ हजार २५३ महिला मतदाता र १४ हजार ३६३ पुरुष मतदाता गरी २७ हजार ६१६ मतदाता हुनुहुन्छ । क्षेत्र नम्बर ३ मा पुरुषभन्दा दुई हजार ३६ जना महिला मतदाता बढी हुनुहुन्छ । भीमदत्त नगरपालिका–४ का महिला मतदाता धनादेवी जोशीले महिलालाई समान अवसर दिइने भन्ने भाषणमा मात्रै सीमित हुने गरेको पाइएको बताउनुभयो । 

कञ्चनपुरमा तीन जना प्रतिनिधि सभा सदस्यका लागि ४९ जना पुरुष उम्मेदवार र छ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ तर साना दल तथा स्वतन्त्र रूपमा उठेका महिला उम्मेदवारले भने निर्वाचनमा विजयी हुने सम्भावनासमेत निकै कम रहेको आकलन गरिन थालेको छ ।