• १२ माघ २०८२, सोमबार

पुरुषविहीन पहाडमा महिला मतदाता कम

blog

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय । तस्बिर : एकिन्द्र तिमल्सिना

धनगढी समाचारदाता

धनगढी, माघ १२ गते । रोजगारीले अधिकांश गाउँलाई पुरुषविहीन बनाइरहेको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा महिला मतदाता भने कम देखिएका छन् । 

प्रदेशभरिको महिला मतदाता सङ्ख्या पुरुषको तुलनामा बढी रहे पनि पाँच पहाडी जिल्लामा भने महिला मतदाता कम देखिएका छन् । प्रदेशभरि १८ अन्यसहित कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् । जसमा पुरुष मतदाता आठ लाख ५२ हजार २१९ र महिला मतदाता आठ लाख ६४ हजार ४२३ जना रहेका प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । प्रदेशभरि पुरुषभन्दा १२ हजार २०४ महिला मतदाता बढी छन् । 

विकट बाजुरा, बझाङ, बैतडी, दार्चुला र डडेलधुरामा भने पुरुषको तुलनामा महिला मतदाता कम छन् । यी तिनै जिल्ला हुन्, जहाँका धेरै पुरुष रोजगारीका लागि भारत गएका कारण कतिपय गाउँ चाडपर्वबाहेक अन्य समयमा पुरुषविहीन रहने गरेका छन् । बाजुरामा दुई अन्यसहित ८७ हजार ८६१ मतदाता रहेकोमा महिला ४२ हजार ४३१ र पुरुष मतदाता ४५ हजार ४२८ जना रहेका छन् । बझाङमा पुरुषको तुलनामा महिला मतदाता दुई हजार ९९७ कम छन् । यस्तै बझाङमा एक लाख २६ हजार ९०३ मतदातामध्ये महिला मतदाता ६२ हजार २८९ र पुरुष मतदाता ६४ हजार ६१४ छन् । यो जिल्लामा पुरुषको तुलनामा महिला मतदाता दुई हजार ३२६ कम छन् । 

दुई अन्यसहित एक लाख ५६ हजार ३७२ जम्मा मतदाता रहेको बैतडीमा महिला मतदाता ७७ हजार ३८३ र पुरुष मतदाता ७८ हजार ९८७ रहेका छन् । बैतडीमा पुरुष मतदाताको तुलनामा महिला मतदाता एक हजार ६०४ कम छन् । यस्तै ९२ हजार ९४८ जम्मा मतदाता रहेको दार्चुलामा महिला मतदाता सङ्ख्या ४५ हजार १९३ र पुरुष मतदाता सङ्ख्या ४७ हजार ७५५ रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिनुभयो । दार्चुलामा पुरुष मतदाताको तुलनामा दुई हजार ५६२ महिला मतदाता कम छन् । 

निर्वाचन कार्यालयका अनुसार ९३ हजार ४०३ मतदाता रहेको डडेलधुरामा पनि पुरुषको तुलनामा ५११ महिला मतदाता कम छन् । सो जिल्लामा महिला मतदाता ४६ हजार ४४६ र पुरुष मतदाता सङ्ख्या ४६ हजार ९५७ रहेको छ । 

कैलाली, कञ्चनपुर, डोटी र अछाममा भने पुरुषको तुलनामा महिला मतदाता बढी छन् । ११ अन्यसहित कुल पाँच लाख ५१ हजार ५२ मतदाता रहेको कैलालीमा महिला मतदाता दुई लाख ८० हजार २४३ र पुरुष मतदाता दुई लाख ७९ हजार ७९८ रहेका छन् । यस्तै कञ्चनपुरमा एक लाख ५४ हजार ६८ पुरुष र एक लाख ६० हजार ३१६ महिला र एक अन्य गरी जम्मा तीन लाख १३ हजार ३८५ मतदाता रहेका छन् । यसै गरी ८२ हजार ३४ पुरुष, ८३ हजार ३०१ र दुई अन्य गरी अछाममा जम्मा एक लाख ६५ हजार ३३७ मतदाता रहेका छन् । 

विकट जिल्लामा महिला मतदाता 

सङ्ख्या कम देखिनु एउटा महत्वपूर्ण र गम्भीर विषय रहेको महिला मानव अधिकारकर्मी गोमा आचार्यको ठहर छ । उहाँले नागरिकता नहुनु वा मतदाता नामावलीमा नाम दर्ता नगराएका कारण महिला मतदाता सङ्ख्या कम रहेको हुन सक्ने उल्लेख गर्नुभयो । महिलालाई नागरिकताबाट वञ्चित गरिएका कारण पनि यस्तो भएको हुन सक्ने अधिकारकर्मीको आकलन छ ।