शालिग्राम नेपाल
चितवन, माघ १२ गते । चितवनको निर्वाचन क्षेत्र नं. ३ मा प्रमुख राजनीतिक दल नेकपा (एमाले) र कांग्रेसले १२ वर्षपछि आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभा निर्वाचनमा–२०७० मा आफ्नै चुनाव चिह्नमा मतदान गरेका यहाँका मतदाताले २०८२ फागुनमा हुने निर्वाचनमा आआफ्नै निर्वाचन चिह्नमा मतदान गर्न पाउने भएका हुन् । २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला निर्वाचित हुनुभएको थियो । अघिल्लो पटक बाँकेबाट पराजित भएपछि जित्ने ठाउँ खोज्दै कोइराला चितवन–४ आउनुभयो । त्यस समयमा चितवनमा पाँच वटा निर्वाचन क्षेत्र थियो ।
यहाँबाट विजयी भएपछि सभापति कोइराला प्रधानमन्त्री हुनुभएको थियो । अहिले यो निर्वाचन क्षेत्र नं. ३ मा पर्छ । दुई ठाउँमा निर्वाचित भएपछि कोइरालाले चितवन–४ छाड्नुभएको थियो । त्यसपछि भएको उपचुनावमा कांग्रेसका रामकृष्ण घिमिरे विजयी हुनुभयो । उपनिर्वाचनमा एमाले र कांग्रेसले आआफ्नै चुनाव चिह्नमा मतदान गरेका थिए । त्यसपछि भएको संसदीय निर्वाचनमा आफ्नो चुनाव चिह्नमा मतदान गर्न पाएका छैनन् ।
यो निर्वाचन क्षेत्र कांग्रेस पार्टीको पकड रहेको स्थान हो । यहाँ कांग्रेसका सामान्य नेता उठाउँदा पनि जित्ने अवस्था थियो । पछिल्लो समय दलीय गठबन्धनका कारण कांग्रेसको मत कमजोर भएको स्वयम् कांग्रेसका नेताहरूले स्विकार्नुभएको छ । नेपाली कांग्रेसका उपसभापति राजीव न्यौपानेले भन्नुभयो, “विगतमा राम्रो भएको क्षेत्र गठबन्धनका कारण कमजोर भएको थियो । अहिले आफ्नै चिह्नमा मतदान गर्न पाउने भएपछि पार्टीमा उत्साह फैलिएको छ । पार्टी कार्यकर्ता तथा शुभचिन्तक उत्साहका साथ प्रचारमा लाग्नुभएको छ ।”
उपसभापति न्यौपानेका अनुसार संविधान निर्माण भएपछि पहिलो पटक आफ्नै पार्टीका उमेदवार आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउँदा खुसी भएका छन् । उहाँले भन्नुभयो, “संसदीय निर्वाचन, भरतपुर महानगरको प्रमुख पदमा हामीले रुखमा भोट हाल्न पाएका थिएनौँ, अब पाउने छौँ । दलीय गठबन्धनका कारण २०७९ को संसदीय निर्वाचनमा सूर्य र रुख चिह्न नै गायब भएको थियो ।”
उपसभापति न्यौपानेले भन्नुभयो, “यस पटक कांग्रेसको भोट कतै जाँदैन, १२ वर्षपछिको खुसियालीमा रुखमा भोट हाल्न मतदाता उत्साहित भएका छन् ।” उहाँले भन्नुभयो, “यसअगाडि कांग्रेसको भोट बाँडिएको थियो, अब बाँडिँदैन । रुखमा भोट हालेर हाम्रो आधार क्षेत्र कायम भएको पुनः प्रमाणित गर्ने छौँ ।” विशेष महाधिवेशनपछि कांग्रेस एकढिक्का भएर हिँडेको र यहाँ कुनै पनि विवाद नभएको प्रमाण परिणामले देखाउने दाबी उपसभापति न्यौपानेले गर्नुभयो ।
नेकपा (एमाले) ले पनि यस पटक १२ वर्षपछि आफ्नै निर्वाचन चिह्नमा मतदान गर्न पाउने भएको छ । २०७० मा भएको निर्वाचनपछि कांग्रेसका सभापति सुशील कोइरालाले यो क्षेत्र छाड्नुभएपछि भएको उपनिर्वाचनमा एमालेले आफ्नो चिह्नमा मतदान गरेको थियो । त्यसयता दलीय गठबन्धनका कारण एमालेका मतदाताले पनि सूर्य चिह्नमा भोट हाल्न पाएका छैनन् ।
नेकपा (एमाले) चितवनका उपाध्यक्ष श्याम विष्टका अनुसार २०७० को चुनावपछि संसदीय निर्वाचनमा एमालेले क्षेत्र नं. ३ मा सूर्य चिह्नमा भोट हाल्न पाएको छैन । “एमालेका मतदाताले अहिले सूर्य चिह्नमा भोट हाल्ने अवसर पाएका छन्, यो अवसर अब छुटाउँदैनन् । एमालेले अब जित हासिल गरेर मतदान गर्ने प्यास मेटाउने छ,” उहाँले भन्नुभयो, “यस पटक भोट बाँडिँदैन । अघिल्ला चुनावहरूमा बाँडियो होला, अब हामी एकढिक्का भएर निर्वाचनमा होमिएका छाँै ।”
विसं २०५६ मा चितवनमा चार वटा क्षेत्र थिए । २०६४ मा आउँदा पाँच वटा र २०७० मा पनि पाँच वटै कायम भयो । २०७४ मा तीन वटा क्षेत्र भए । तीन वटा क्षेत्र कायम भएपछि एमाले र तत्कालीन नेकपा (माओवादी) बिच एकता भयो र पार्टी नेकपा बन्यो । नेकपाबाट उम्मेदवार भएका पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुनुभएको थियो । प्रचण्डले राप्रपाका विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले पराजित गर्नुभएको थियो ।
प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा कांग्रेसको समर्थनमा उठेका पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गर्नुभएको थियो । यो चुनावमा एमालेका मतदाताले हँसिया हथौडामा भोट हाल्नु परेको थियो । सूर्य चिह्न नै यहाँ थिएन । प्रचण्ड हँसिया हथौडा चिह्न लिएर उठ्नुभएको थियो । कांग्रेसले पनि हलोमा भोट हाल्यो । राप्रपाका पाण्डे हलो चिह्नमा उठ्नुभएको थियो ।
विसं २०७९ को चुनावमा यस क्षेत्रमा राप्रपाका विक्रम पाण्डे विजयी हुनुभएको थियो । पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभयो । अधिकारी कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८२२ मत ल्याउनुभएको थियो ।
यस क्षेत्रमा कांग्रेसबाट बागी उठ्नुभएका दिनेश कोइरालालाई एमालेले सघाउने निर्णय गरेको थियो । उहाँको निर्वाचन चिह्न आँखा थियो । एमालेले मतदातालाई निर्देशन दिएर आँखा चिह्नमा भोट हाल्न लगाएको थियो । सूर्य चिह्न नै भएन । दिनेश कोइरालाको १२ हजार ५७ मत आयो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले तेस्रो स्थान प्राप्त गर्नुभयो । उहाँले १४ हजार ८४२ मत ल्याउनुभएको थियो ।
विसं २०८२ को चुनावमा चितवन–३ मा कांग्रेस र एमाले दुवै पार्टीका उम्मेदवार अहिले आफ्नो पक्षमा मत ल्याउन व्यस्त हुनुभएको छ । कांग्रेसबाट पुराना नेता टेकप्रसाद गुरुङ उम्मेदवार बन्नुभएको छ । एमालेबाट युवानेता शङ्करराज थपलिया उम्मेदवार हुनुहुन्छ । कांग्रेस एमालेका दुवैको चुनाव चिह्न यस पटकको निर्वाचनमा हुने छ । यस अवसरलाई सदुपयोग गर्ने कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।