राजनीति नै राज्यको मूल नीति हो । मूल नीतिको आधारमा अन्य नीतिको आधार तय हुन्छ । नीति तय गर्ने सर्वोच्च संस्था संसद् हो । निर्वाचनबाट नीति निर्माण तहमा आफ्नो जनप्रतिनिधि पठाउने लोकतान्त्रिक पद्धति चलिरहेको छ । यसरी जनअनुमोदित राजनीतिक शक्ति शासन सञ्चालनको मियोमा रही जनहितमा लाग्नु लोकतन्त्रको असल अभ्यास हो । जनहितका लागि अहोरात्र सक्रिय भई जनताको समुन्नत जीवनको लक्ष्यमा पुग्न प्रयत्न गर्नु जनअनुमोदित प्रतिनिधिको मुख्य कर्तव्य हो । जनताले आवधिक निर्वाचनको महत्वपूर्ण अवसरमा आफ्नो जनप्रतिनिधिसहित शासकीय नेतृत्व चयन गर्ने र लाभान्वित हुने मौकालाई सामान्य र आवेकका रूपमा लिनु हँुदैन । मुलुकको हित र जनताको जितका लागि असल, सक्षम, प्रतिबद्ध र जागरुक नेतृत्वले मात्र आर्थिक रूपान्तरण गरी जनताको मन जित्न सक्छ । जनताले आमचुनावलाई क्षणिक रूपमा नलिई जनताको सुखद् भविष्य सुनिश्चित हुने सूत्रमा जोड्न आवश्यक छ ।
सङ्घीय संसद् र शासनको नेतृत्वका लागि चुनाव हुँदै छ । विगतमा पनि चुनाव नभएका होइनन् तर जनताको भूमिका र निर्वाचित जनप्रतिनिधि एवं नेतृत्वको क्रियाकलाप तथा जनता र जनप्रतिनिधिबिचको सम्बन्ध जस्ता विषयमा गहन छलफल हुनै सकेनन् । मुख्य कमजोरी यो नै हो । आर्थिक विकासका केही काम भए तर जति हुनुपर्ने हो, त्यो हुन सकेन जनतामा आशा भन्दा निराशा बढ्दै गएको अनुभूतिले समय सीमाअघि नै विद्रोह भई पुनः निर्वाचन गर्नुपर्ने अवस्था आयो । आर्थिक रूपान्तरणको एजेन्डाभन्दा आर्थिक अनियमितताका विषयमा होहल्ला बढी भए । नेतृत्वको विलाशी जीवनले राजनीतिक अवसर पाउँदा चाँडै उच्चस्तरको जीवन जिउने तर जनताप्रति जिम्मेवार र जवाफदेही हुनुपर्ने विषय गौण भए । क्षणिक र आवेगमा जनमतको सदुपयोग गर्न सकिएन । आर्थिक उन्नतिका लागि छिमेकी देशको आर्थिक प्रगतिको प्रभावलाई आत्मसात् गर्न र नजिकको बजार एवं व्यापार बन्दाबस्तीको लाभ लिन सकिएन ।
छिमेकी देशको आर्थिक अवस्था हेर्दा दक्षिणको चीन विश्वको दोस्रो अर्थतन्त्र भएको, कुल गार्हस्थ उत्पादन १९.६ ट्रिलियन यु एस डलर र प्रति व्यक्ति आय करिब १४ हजार डलर पुगेको अवस्था छ भने चीन विश्वको दोस्रो ठुलो जनसङ्ख्या भएको देश भएको छ । दक्षिणको छिमेकी देश भारतको कुल गार्हस्थ उत्पादन ४.९८ ट्रिलियन डलरको अर्थतन्त्रसहित प्रतिव्यक्ति आय ११,१७६ डलर भई विश्वको चौथो अर्थतन्त्र र बढी जनसङ्ख्या भएको देशका रूपमा स्थापित भएको छ । यी बाघ अर्थतन्त्र भएका देशका बिचमा रहेको नेपालको कुल गार्हस्थ उत्पादन ४३.४५ विलियन डलर र प्रतिव्यक्ति आय करिब १२०० डलरको अवस्थामा रहनु परेको छ ।
छिमेकी देशको प्रगतिको सामान्य प्रभाव पनि नेपालीले अनुभूति गर्न पाएनन् । यसको दोष शासकीय नेतृत्व र नागरिकलाई पनि जान्छ । जनताले देशको हित र भलाई गर्ने असल र सही नेतृत्व छान्ने अवसरको सदुपयोग नहुँदा शासकीय प्रभाव कमजोर हुन पुग्यो । नेपालले सन् २०२६ मा मध्यम आय भएको देश हुने दूरदृष्टि राखेको र विकासशील देशमा स्तरोन्नति हुने अवसरको तयारीमा थियो । राजनीतिक अस्थिरता, प्रतिबद्ध र बलियो सरकार नहुँदा तर्जुमा गरिएका आर्थिक कार्यदिशा गतिशील हुन सकेनन् । यस्तो हुनुमा जनताको भूमिकामा पनि प्रश्न खडा भएको छ, असल नेतृत्व छान्न नसक्दा । जनताले शासन व्यवस्थाको मियोमा हुने जनअनुमोदित नेतृत्वलाई बेलगाम छोड्नु, छनोटमा विवेक नपु¥याउनु, नेतृत्वले जवाफदेही र जिम्मेवारी भूमिकामा हेलचेक्य्राइँ गर्नु, आफ्नो स्वार्थमा ध्यान दिनु जस्ता विकृतिले राज्य प्रताडित भइरहेको छ । जनतामा बेलामा होस् नपु¥याउने तर पछि पछुताउने र आक्रोशित हुने जस्ता व्यवहार देखिए । यी विकृतिको सुधार गर्न र लोकप्रिय शासकीय नेतृत्व ल्याउन समयमै सजक र सतर्क हुनुपर्ने हुन्छ ।
आमचुनावमा यी विषयमा व्यापक बहस गरी जनताले बुझ्ने र लाभ लिन सक्ने आर्थिक अवसर खोजी गर्नु पर्छ । तदलनुकूलको आर्थिक मार्गचित्र तय गर्न जनताको भावना बुझ्ने शासकीय नेतृत्व चयन हुनु पर्छ । राजनीतिक दलको घोषणापत्र जनजनले बुझ्ने र व्यवहारमा ल्याउन सक्ने आधारको मूल्याङ्कन गरी जनताप्रति प्रतिबद्ध दलको जनप्रतिनिधि र नेतृत्व चयन गर्न स्वच्छ मतदानबाट उचित निर्णय लिन सक्ने आधार स्पष्ट हुन आवश्यक छ । राजनीतिक सचेतनाका लागि अग्रसर भएका संस्था, दबाब समूह, क्लब, नागरिक समाज एवं तटस्थ विज्ञहरूले दलको नेतृत्व वा जिम्मेवार पदाधिकारीलाई जनमानसमा स्थापित हुन सक्ने आर्थिक एजेन्डासहित बहस पैरवी गराउनु पर्छ । भोलिको आर्थिक रूपान्तरणको मार्गचित्र तय गरी त्यसको कार्यान्वयन गर्न सक्ने व्यक्तिलाई नेतृत्वमा पु¥याउने गरी मतदान गर्ने वातावरण निर्माण अहिलेको आवश्यकता हो । आर्थिक विधाका प्रत्येक क्षेत्रमा कस्ता कस्ता धारणा छन्, त्यसको नतिजा र नागरिकको जनजीवनमा ल्याउने सकारात्मक प्रभावको लेखाजोखा हुनै पर्छ । आर्थिक परिसूचकको वर्तमान अवस्था र ती सूचकको परिवर्तित अनुमान एवं जनताको जीवनस्तरमा आउने सुधारका विषयमा स्पष्ट पारी चुनावमा जनताको मन जित्न सक्ने नेतृत्व स्थापित गर्नु पर्छ ।
जनशक्तिको उपयोग र वैदेशिक अवसरको विकल्प, औद्योगिक वातावरण र उत्पादन, व्यापारको अवसर र बजार पहुँच, पर्यटन, जलस्रोत, हस्तकला, जडीबुटी, सूचना प्रविधिलगायतका क्षेत्रमा थुप्रै सम्भावना छ । रोजगारीका सम्भावना यिनै क्षेत्रमा छन् ।
समुन्नत आर्थिक कार्यदिशासहितको मार्गचित्र एवं कार्यान्वयनयोग्य प्रतिबद्धतासहितका लिखित दस्ताबेजको प्रष्टताका आधारमा जनताले बुझेर योग्य र सक्षम नेतृत्व चयन गर्नु पर्छ । काम र कुराबिच तालमेल हुनु पर्छ । नतिजा कमजोर भएका, पुराना अनुभव र अनुभूतिलाई हामीले बिर्सनु हँुदैन । आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सम्बन्धले विशेष भूमिका निर्वाह गर्छ । हाम्रो जस्ता मुलुकका लागि वैदेशिक सहयोग नै विकासको प्रमुख आधार हो । अर्थतन्त्रको आकार बढाउन गरिबी घटाउने, प्रतिव्यक्ति आय बढाउने, व्यापार घाटा कम गर्ने, श्रम शक्तिको उपयोग, पर्यटन प्रवर्धन, जलस्रोतको बहुउपयोग, सम्भाव्य औद्योगिकीकरणका लागि लगानीको सुनिश्चितता, राज्यले लिएका दीर्घकालीन लक्ष्यको परिपुरण एवं अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्ध जस्ता महत्वपूर्ण विषयमा घनीभूत छलफल हुनु जरुरी छ ।
नेपालको भौगोलिक, वर्गीय, शारीरिक एवं अवसरबाट वञ्चित गरिबीको खाडल पुर्न आर्थिक इन्जिनियरिङका आधारमा योजनागत अवधारणासहित जनताले तुरुन्तै बुझ्ने र लागु हुने आर्थिक कार्यदिशासहितको प्रतिबद्धता नेतृत्वबाट आउनु पर्छ । त्यसलाई बुझेर मात्रै जनताले मतदान गर्न तयार हुनु पर्छ । जनजनमा आर्थिक कल्याण, अवसर र प्रतिस्पर्धात्मक उत्पादन क्षमताको अवसर बढाई जनताको आर्थिक क्षमता बढोत्तरी गर्ने शासकीय नेतृत्वको खोजी अहिलेको आवश्यकता हो । चुनावमा जनजीविका, उद्यमशीलता, व्यापार र बजार पहुँच जस्ता विषयमा जनताले राजनीतिक बहस पैरवी गरी भोलिको समुन्नत आर्थिक आधार बनाउन सक्रियताको त्यत्तिकै आवश्यकता छ ।
जनता मतदान गर्ने कारखाना होइनन् । जनताले सुखद भविष्यको ग्यारेन्टी गर्ने नेतृत्व चाहेको छ । हिजोका मतदाता होइनन्, जसले जे भन्यो त्यही गर्ने, अहिले चेतनाको स्तर बढ्दो छ । हाम्रो भविष्य हामीले नै बनाउने हो भन्ने चेतना अधिकांश मतदातामा विकास भइसकेको छ । मतदानको शक्ति नै भोलिको उन्नत जीवन बनाउने शक्ति हो । आफैँ सक्रिय नभई केही उपलब्धि हात लाग्दैन । त्यसका लागि उपयुक्त वातावरण पनि चाहिन्छ । असल शासनको अनुभूतिबाट मात्रै जनताले विश्वास गर्ने हुन् । यसअघि विश्वासमा आघात परेको बारे मतदाता सचेत देखिएका छन् । असल शासनको मुख्य आधार आर्थिक रूपान्तरण पनि हो । आर्थिक अवसर प्राप्तिमा देखिएका कमीकमजोरी सुधार गरी सम्भाव्य अवसरको उपयोग गर्न र जनजीविका एवं जीवनस्तरलाई उन्नत बनाउन लोकतन्त्रको असल अभ्यासमा नागरिक जागरुक हुनु पर्छ । ‘आर्थिक उपलब्धिका लागि असल शासन, असल शासनका लागि स्वच्छ मतदान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गरी आमनागरिकले मतदान गर्नु पर्छ ।