पछिल्ला आठ दस वर्षमा नेपालमा धेरै भौतिक परिवर्तन भएका छन् । बाटाघाट. पुलपुलेसा विस्तार भएका छन्, गाउँ गाउँसम्म सडक पुगेका छन् । सडक र पुल निर्माण सङ्घीय, प्रदेश र स्थानीय सरकारका प्रमुख प्राथमिकतामा पर्नुका कारण गाउँ र बस्तीलाई जोड्ने संरचना तीव्र गतिमा विस्तार भएका छन् । सडक पुगेपछि गाउँमा मेसिन, कृषि उपकरण, यातायातका साधन, उपभोग्य सामग्री पनि सहजै पुगेका छन् । अघिल्लो पुस्ताले भोगेको भारी बोक्ने, लामो पैदल यात्रा गर्ने बाध्यता अव प्राय गाउँ बस्तीबाट हटेको छ । आवश्यक सामग्री सहरै जानु नपरी गाउँमै पाइने भएपछि उपभोग गर्ने अवसर र छनोटका विकल्प पनि बढेका छन् । यसले गाउँलेको जीवनशैलीमा ठुलो परिवर्तन ल्याएको छ । मालवाहक गाडीले गाउँलाई सहर, बजारसँग जोडिदिएको छ । आज धेरै गाउँमा चामलदेखि एलपी ग्यास, मोबाइलदेखि फ्रिजसम्म सहजै पाउन सकिन्छ । कृषि उपकरण, हाते ट्याक्टर गाउँ गाउँमा पुग्नाले कृषि कार्यलाई समेत सहजता थपेको छ ।
विद्यालय र स्थानीय निकायका भवन ठुला र आकर्षक बनेका छन् । पहिले झ्यालढोका नभएका, रङरोगन नगरिकएका फुङ्ग उडेका, संरक्षण नगरिएका टाढैबाट नियाल्दा नै सामुदायिक विद्यालय भनेर ठम्याउन सकिने अवस्थामा परिवर्तन आएको छ । गाउँ गाउँमा यत्रा गर्दा टाढा तथा पल्लो डाँडा पाखामा अग्ला र ठुला भवन देखिए भने अनुमान लगाउन सकिन्छ कि त्यो विद्यालय भवन हो या त स्थानीय तहको कार्यालय भवन । अधिकारको दृष्टिले भन्न सकिँदैन, भौतिक संरचनामा ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने नारा पूरा भए जस्तो लाग्छ । सानोतिनो कामका लागि जिल्ला सदरमुकाम धाउनु पर्दैन । स्थानीय समुदायका नागरिक वडाध्यक्ष वा नगरप्रमुखसँग आफ्ना माग राख्न र प्रश्न गर्न सहजै सक्छन् । स्थानीय नेतृत्वले आफ्नो क्षेत्रको समाजको प्रवृत्ति बुझेको छ ।
सूचना प्रविधिले समाजमा व्यापक परिवर्तन ल्याएको छ । अब समाचारका लागि हुलाकी वा काठमाडौँबाट प्रकाशित हुने पत्रिका पर्खिरहनु पर्दैन । मोबाइल फोनको पहुँच अधिकांश घरमा पुगेको छ । खेतीपाती गर्न, घाँस काट्न, कुटानी पिसानी गर्दासमेत युवकयुवती बिदेसिएका आफन्तसँग कुराकानी गर्छन् । वृद्धवृद्धाले विदेशमा भएका सन्तानसँग गरिने भिडियो कलले टाढा हुनुको पीडा घटाएको छ । शिक्षामा सूचना प्रविधिको प्रयोग सुरु भइसकेको छ । ग्रामीण क्षेत्रमा पनि साक्षरता दर उल्लेख्य रूपमा बढेको छ । अहिले अधिकांश बालबालिका विद्यालय जान्छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र अन्य लक्षित समुदायले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ताले केही मात्रामा आत्मनिर्भर बनाउने मात्र होइन उनीहरूमा आत्मविश्वास पनि बढाएको छ ।
यति धेरै सकारात्मक पक्षबिच केही गहिरा र दीर्घकालीन असर पार्ने नकारात्मक प्रवृत्ति पनि समाजमा फैलिरहेका छन् । सहरबाट गाउँ पुग्ने मालबाहक गाडी चाउचाउ, बिस्कुट, कोक, फ्यान्टा, रक्सी, वियर जस्ता वस्तुले भरिएर जान्छन् तर फर्किंदा रित्तै हुन्छन् । बजारीया वस्तुको उपभोग बढेको छ, आफ्नो उत्पादन घटेको छ । गाउँमा कृषि, पशुपालन, घरेलु उद्योग जस्ता पेसा ओझेलमा परेका छन् । तिनलाई ‘तल्लो स्तरको काम’ भन्ने नजरले हेर्न थालिएको छ । कामको व्यस्तताले भन्दा पनि देखाउनकै लागि पनि युवकयुवती मोटरसाइकलमा घुमिरहेका छन् । पाखुरामा बल भएका युवकयुवती चौतारी, सार्वजनिक स्थल तथा चिया पसलमा तास र क्यारेम खेल्दै, गफिँदै बसिरहेको यत्र तत्र देखिन्छ । युवाका गफका विषय विदेशमा भएका विकासका चकचकी हुने गरेका छन् । विदेशमा त्यहाँका नागरिक र अन्यदेशबाट गएकाले काममा कति व्यस्त हुन्छन्, कामलाई ठुलो सानो भन्दैनन्, कसैले एक मिनेटको समय पनि खेर फाल्दैन भन्ने जस्ता कुरा भने हुँदैनन् ।
मलेसिया, कतार, कुवेत, कोरिया, जापानको रोजगारीबाट आएको पैसा उद्योग व्यवसायमा भन्दा पनि घर निर्माण र बजारीया वस्तुमा खर्च भइरहेको छ । जङ्क फुडको संस्कृति गाउँसम्म पुगेको छ । चाउचाउ, बिस्कुट, बोतलको ‘कोल्ड ड्रिङ्क’ रक्सी जस्ता वस्तु दैनिक उपभोगको हिस्सा बनेका छन् । भटमास, मकै, रोटी, ताजा तरकारी, सिस्नो, गुन्द्रुक, करकलो जस्ता पौष्टिक परिकारलाई ‘तल्लो स्तरको खाना’ भन्ने धारणा बढ्दै गएको छ । गाउँले अब जरुवाको चिसो पानीमा होइन, कोक फ्यान्टा पिउनुमा रमाउन थालेका छन् । लेकको ताजा हरियो सागपातमा समेत अजिनोमोटो प्रयोग हुन थालेको छ । हिमाली क्षेत्रमा उकालो चड्दा लेक लाग्नबाट बच्न ‘कोल्ड ड्रिङ्क’ पिउनु पर्छ भन्ने भाष्य खडा गरिएको छ ।
यो मात्र होइन, जता पनि सडक खोल्ने होड छ । वातावरणीय अध्ययन, जोखिमको आकलनबिनै पहाडमा डोजर चलाइएको छ । बर्सातमा हुने बाढी–पहिरोमा हरेक वर्ष जनधनको क्षति भइरहेको छ तर त्यसलाई ‘दैवी प्रकोप’ भनेर टारिन्छ । डोजरले खोतलिएको माटो र बगरले उब्जाउ गहिरी खेतहरू बगरले पुरिएका छन् । खेतीयोग्य जमिन बाँझा भएर झाडी र वन फैलिँदै छ, बाँदरको आतङ्क बढेको छ । गाउँमा बाँझिएको जमिन र खाली घर हेर्दा सामाजिक र श्रम शक्ति दुवैको क्षय भएको स्पष्ट हुन्छ । शिक्षामा सुधार आएको जस्तो देखिए पनि बालबालिकाको सिकाइ उपलब्धि कमजोर छ । सरकारी विद्यालयप्रतिको विश्वास अझै कमजोर हुँदै गएको छ । सामुदायिक विद्यालयमा बालबालिका पढाउने अभिभावक र पढ्ने बालबालिकाले समेत निजी विद्यालयमा पढाउने पढ्नेसँग तुलना गरी आफूलाई ‘कमजोर वर्ग’ को रूपमा हीनताबोध गरिरहेका छन् । सूचना प्रविधिको प्रयोगले एकातिर सूचनामा पहुँच बढाएको छ, समाजलाई केही मात्रामा भए पनि सचेत बनाएको छ । अर्कातिर पुस्तक पढ्ने, छलफल गर्ने, चिन्तन गर्ने संस्कार भने ह्वात्तै घटाएको छ । युवाको सोच सामाजिक सञ्जालको डिजाइनमा निर्देशित भइरहेको छ । सामाजिक जरोमा भाग्यवाद अझै बाक्लिँदै गएको छ ।
भविष्य निर्माणका लागि मेहनत र प्रयासभन्दा पनि भाग्य पत्ता लगाउन सडको छेउमा बसेकासँग हस्तरेखा देखाउने, चिना हेराउन टाडा टाड पुग्ने, धामी–झाँक्रीमा विश्वास गर्ने, चाँडै अझै भन्दा जादुगरी रूपमा सफलता खोज्ने संस्कार व्यापक हुँदै गएको छ । राजनीति गर्नेहरूले समेत युवा चेतनालाई सकारात्मक ऊर्जा दिनेभन्दा निराशाको खेती गरिरहेका छन् । विकास प्रक्रिया समय लाग्ने विषय हो भन्ने बुझाइभन्दा पनि, देखासिकी र छिटो उपलब्धि खोज्ने प्रवृत्ति राजनीतिमा हाबी हुँदै गएको छ । राजनीतिलाई सेवाभन्दा पनि पेशा बनाउने, युवादेखि सिनियर राजनीति कर्मीहरूको रोजगारी तथा उत्पादनमूलक कुनै कार्य नदेखिने तर जीवनस्तर माथिल्लोस्तरको देखिनुको असर आममान्छेमा परिरहेको छ । राजनीतिक नेतृत्वको अपारदर्शी क्रियाकलाप, सामाजिक र राज्यका महìवपूर्ण संस्थालाई कमजोर बनाउने र आफ्नो इच्छा र निर्देशनमा चल्ने बनाउने चाहनाले जेनजी विद्रोह भयो । अझै पनि त्यसबाट आफूलाई सच्याउनुभन्दा विद्रोहको मुख्य मर्मलाई नै तोडमोड गर्ने र गलत अर्थ लगाउने कार्य भइरहेको छ ।
यी सबै सङ्केतले एउटा प्रश्न उठाउँछ– नेपाली समाज साँच्चै कहाँ जाँदै छ ? भौतिक र सामाजिक विकास अनिवार्य छ तर हरेक क्षेत्रको विकास योजनाबद्ध र दिगो हुनु पर्छ । उपभोगवादी संस्कृति, सोच, बढ्दै जाने, श्रम गर्ने, उत्पादनमूलक कार्यमा लाग्ने जस्ता कार्य बिर्सने, बालबालिका र युवाको स्वास्थ्य कमजोर हुँदै जाने, प्रकृति र वातावरण नास हुँदै जाने हो भने ‘विकास’ अन्ततः विनाशतर्फ लम्किरहेको हुन सक्छ । बितिसकेको समय र मरिसकेको सन्तान जतिसुकै प्रलाप गरे पनि फर्कन सक्दैनन् । समयमा नै यसतर्फ ध्यान दिन आवश्यक छ ।