- निर्माण सुरु भएदेखि हरेक वर्ष एक किलोमिटर मात्रै थप्दै लगेको भए अहिलेसम्म लोकपथ सम्पन्न भइसक्थ्यो ।
- यो लोकपथ निर्माण सुरु भएका बेला जन्मेका बच्चा अहिले वृद्ध भइसकेका छन् तर यसको निर्माण भने अझै अधुरै छ ।
काठमाडौँ, माघ ११ गते । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण सात दशकमा समेत सम्पन्न हुन सकेको छैन । यस लोकपथको निर्माण काठमाडौँ–वीरगन्ज जोड्ने त्रिभुवन राजपथको विकल्पका रूपमा २०१३ सालबाट सुरु भएको हो । यो लोकपथलाई काठमाडौँ–हेटौँडा जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग मानिन्छ ।
कुल ७९ किलोमिटर लम्बाइ रहेको मुलुककै पुराना सडक आयोजनामध्येको सो लोकपथको निर्माण सात दशकमा ७५ प्रतिशत सम्पन्न भएको छ । नेपाली सेनाले २०१३ सालदेखि २०१६ सम्म यसको ट्र्याक खोली निर्माण सुरु गरेको थियो । निर्माण सुरु भएदेखि हरेक वर्ष एक किलोमिटरका दरले पनि काम सम्पन्न गरेको भए अहिलेसम्म यस लोकपथको काम सम्पन्न भइसक्थ्यो तर यो सडक आयोजनाले मुलुकको पूर्वाधार विकासको गतिलाई गिज्याइरहेको छ । यो लोकपथको निर्माण सुरु भएका बेला जन्मेका बच्चा अहिले वृद्ध भइसकेका छन् तर यसको निर्माण सम्पन्न हुन सकेन ।
कान्ति लोकपथ आयोजनाका इन्जिनियर राजन पाण्डेले आयोजनाको तीन तिहाइ काम सम्पन्न भइसकेको बताउनुभयो । विकास बजेटको अभाव तथा प्राकृतिक कारणले यस आयोजनाको काम सम्पन्न हुनमा ढिलाइ भएको बताउँदै आगामी आर्थिक वर्ष (२०८३/८४) सम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कुल ७९ किलोमिटर लम्बाइ रहेको यस लोकपथको अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । कालोपत्र गर्न बाँकी रहेको ठाउँमा अहिले एक लेनको मात्र सडक छ । चट्टान काटेर त्यहाँ दुई लेनमा स्तरोन्नति गर्नु पर्छ । त्यही भएर दुरी कम भए पनि भौगोलिक कठिनाइका कारण काम सम्पन्न गर्न समय लाग्ने देखिएको छ ।
उहाँले भन्नुभयो, “यस लोकपथको सडक सीमा निर्धारण नगरिएकाले सडक सीमाभित्र घर/टहरा, रुखबिरुवा, बिजुलीका खम्बा, खानेपानी, ढलका पाइपलगायत ‘युटिलिटी’ का सामग्री रहनुका साथै लोकपथको निर्धारित क्षेत्रभित्र नै ढुङ्गा, बालुवालगायतको उत्खननको समस्या छ ।”
पुल निर्माण हुँदै
यस आयोजना अन्तर्गत बागमती नदीमा पुल निर्माण भइरहेको इन्जिनियर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दुई लेनको यो पुल ९० मिटर लामो हुने गरी डिजाइन गरिएको छ । १८ करोडको लागतमा यस पुलको निर्माण भइरहेको हो । पुलको ‘पाइलिङ’ र जग हाल्ने काम सुरु भइसकेको छ । ठेक्का सम्झौता अनुसार यस पुलको निर्माण अवधि चालु आव (२०८२/८३) को असार मसान्तसम्म रहे पनि सो अवधिभित्र काम सम्पन्न हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
काठमाडौँतिरबाट यस लोकपथको शून्य किलोमिटर ललितपुरको टीकाभैरव रहेको छ भने हेटौँडातिरिबाट यसको शून्य किलोमिटर हेटौँडाको बुद्धचोक रहेको छ । टीकाभैरवदेखि बुद्धचोकसम्म कुल ७९ किलोमिटर लम्बाइ छ । सामान्य अवस्थामा यस सडकको चौडाइ दुई लेनको रहे पनि भौगोलिक रूपले साँघुरो भएको ठाउँमा यसको चौडाइ ‘इन्टरमिडियट साइज’ को अर्थात् ‘डबल लेन’ र ‘सिङ्गल लेन’ को बिचमा छ ।
हेटौँडाको बुद्धचोकदेखि मकवानपुरगढीसम्मको दुरी १५ किलोमिटर, मकवानपुरगढीदेखि बगुवासम्मको दुरी ३६ किलोमिटर र बगुवादेखि टीकाभैरवसम्मको दुरी २८ किलोमिटर छ । बुद्धचोकदेखि टीकाभैरवसम्मको सडक कान्ति लोकपथ सडक योजनाले हेर्ने गर्दछ भने टीकाभैरवदेखि सातदोबाटोसम्मको १० किलोमिटर सडक उपत्यका सडक विस्तार आयोजनाले हेर्ने गर्दछ । गत आवदेखि यस सडकको ‘एलाइन्मेन्ट’ परिवर्तन गरी टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म गरिएको छ । यस सडकमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ४० किलोमिटर पर्छ ।
यस आयोजनाका लागि चालु आव (२०८२/८३) मा ४६ करोड रुपियाँ विनियोजन गरिएको छ । अहिलेसम्म यस आयोजनामा करिब चार अर्ब रुपियाँ खर्च भइसकेको इन्जिनियर पाण्डेले जानकारी दिनुभयो । आयोजनाको लागत अनुमान छ अर्ब रुपियाँ रहेकामा अहिले संशोधन गरेर कुल लागत अनुमान आठ अर्ब ८३ करोड रुपियाँ पु¥याइएको छ ।
२०७६ जेठ ६ गतेको मन्त्रीपरिषद्को बैठकले कान्ति लोकपथलाई रामार्गमा विस्तार गर्ने निर्णय गरेको थियो । राष्ट्रिय राजमार्ग कम्तीमा पनि दुई लेनको हुनुपर्ने राज्यको नीति रहे पनि यस लोकपथमा त्यो लागु हुन सकेको छैन । अन्य राजमार्ग जस्तो यसको सडक सीमा ११ मिटर छैन । यसको सडक सीमा नालीसहित आठदेखि साढे आठ मिटरसम्म मात्र छ ।
सन् १९५४ मा राजा महेन्द्रले सडक निर्माण सुरु गरेपछि सुरुमा सडकको नाम टीकाभैरव–हेटौँडा सडक थियो तर सन् १९६२ मा नेपालकी महारानी कान्तिको नामबाट कान्ति राजमार्ग नामकरण गरिएको थियो । सन् १९९० को दशकको अन्त्यतिर नेपाल सरकारले यस सडकलाई नेपाल–भारत सीमामा रहेको काठमाडौँदेखि वीरगन्ज जोड्ने त्रिभुवन राजमार्ग (एच ०२) को वैकल्पिक राजमार्गका रूपमा मान्यता दिएको थियो ।
कान्ति लोकपथ निर्माण भए तराईबाट काठमाडौँ प्रवेश गर्ने १३२ किलोमिटर दुरी छोटो हुने आयोजनाले जनाएको छ । अहिले तराईबाट काठमाडौँ प्रवेश गर्ने मुख्य मार्ग हेटौँडा–नारायणगढ–मुग्लिङ–नागढुङ्गा हो । यसको दुरी २२२ किलोमिटर छ । कान्ति लोकपथ निर्माणपछि ७९ किलोमिटरमै हेटौँडाबाट काठमाडौँ आउन सकिन्छ, जसले आमयात्रुको समय र इन्धन दुवैको बचत गर्छ । त्यसै गरी मुग्लिङ–नारायणगढ–हेटौँडा र १५८ किलोमिटरको त्रिभुवन राजपथको जोखिमपूर्ण यात्राको बाध्यता हट्ने विश्वास गरिएको छ ।