गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ७ गते । आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक भएको छ । निर्वाचनमा भाग लिन दल दर्ता गरेकामध्ये ६८ दलका दुई हजार २९७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवारसहित कुल तीन हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले प्रारम्भिक विवरण भएकाले सङ्ख्या केही थपघट हुन सक्नेसमेत जनाएको छ ।
आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले सङ्ख्या केही घटबढ हुन सक्ने बताउनुभयो । भट्टराईले भन्नुभयो, “अहिले सार्वजनिक भएको प्रारम्भिक सूची हो । सम्बन्धित कार्यालयले थप रुजु गर्ने छन् । यसमा सामान्य परिवर्तन हुन सक्छ ।”
कुल उम्मेदवारमध्ये महिला ३९५ रहेका छन् । यस्तै पुरुष उम्मेदवार तीन हजार ८८ र अन्य एक जना रहेका छन् । यो पटक स्वतन्त्र उम्मेदवारको सङ्ख्या एक हजार १८७ रहेको छ । स्वतन्त्र उम्मेदवारमा पनि पुरुष उम्मेदवार एक हजार २४ रहेका छन् । उमेर समूहगत रूपमा ३६ देखि ५० वर्ष समूहको वर्चस्व मनोनयनमा देखिएको छ । निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्क अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ जना रहेका छन् । यस्तै ३६ देखि ५० वर्ष उमेर समूहका एक हजार ६१० जना रहेकामा ५१ देखि ६५ वर्ष उमेर समूहका एक हजार ९० जनाले मनोनयन दर्ता गरेका छन् । ६५ वर्षमाथिका २०१ जना रहेका छन् । आयोगका अनुसार सबैभन्दा कम उम्मेदवार मुस्ताङमा चार र मनाङमा पाँच जनाको परेको छ । रुपन्देहीका दुई निर्वाचन क्षेत्रमा ३५÷३५ जनाको मनोनयन दर्ता भएको छ ।
कुन दलका कति
नेपाली कांग्रेस र नेकपा (एमाले) दुई दलले मात्र १६५ क्षेत्रमा उम्मेदवार उठाएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १६३, नेपाल मजदुर किसान पार्टीले १२१ क्षेत्रमा उम्मेदवार उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १६३ स्थानमा नै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले १३०, मङ्गोल नेसनल अर्गनाइजेसनले ११३, आम जनता पार्टीले १०२, श्रम संस्कृति पार्टीले १०९, उज्यालो नेपाल पार्टीले १०८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । नौ वटा राजनीतिक दलले एक निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ । उजुरीउपर जाँचबुझपछि माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ र निर्वाचन चिह्न प्रदान हुने छ ।
शीर्ष नेता को कहाँबाट?
चुनावमा केही शीर्ष नेताले निर्वाचन क्षेत्र बदलेका छन् । काठमाडौँ–४ बाट लड्दै आउनुभएका कांग्रेस सभापति गगनकुमार थापाले सर्लाही ४ बाट मनोनयन दर्ता गर्नुभएको छ । महामन्त्री प्रदीप पौडेलले काठमाडौँ–५ र अर्का महामन्त्री गुरुराज घिमिरेले मोरङ–४ बाट मनोनयन दर्ता गर्नुभएको छ । सहमहामन्त्री उदयशमशेर राणाले ललितपुर–१ बाट मनोनयन दर्ता गर्नुभएको छ । यस्तै कांग्रेस नेता शेखर कोइरालाले मोरङ–५ बाट मनोनयन दर्ता गर्नुभएको छ । सुनसरी–३ मा विजयकुमार गच्छदार र ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको मनोनयन दर्ता भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट मनोनयन दर्ता गर्नुभएको छ । वरिष्ठ नेता ईश्वर पोखरेलले काठमाडौँ–५ बाट उम्मेदवारी दिनुभएको हो । यसअघि पोखरेल सोही क्षेत्रबाट पराजित हुनुभएको थियो । उपाध्यक्ष गोकर्ण विष्टले गुल्मी–२, सचिव महेश बस्नेतले झक्तपुर–२ बाट मनोनयन दर्ता गर्नुभएको छ । उपमहासचिव लेखराज भट्टले कैलाली–४ बाट र निवर्तमान सभामुख देवराज घिमिरे झापा–२ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्व पुग्नुभएको छ । प्रचण्ड यसअघि गोरखाबाट निर्वाचित हुनुभएको थियो । यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहट–१ बाट मनोनयन दर्ता गर्नुभएको छ । यस्तै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सर्लाही–३, शक्तिबहादुर बस्नेतले जाजरकोट र वर्षमान पुनले रोल्पाबाट उम्मेदवारी दिनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन–२ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गर्नुभएको छ । यस्तै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट उम्मेदवारी दिनुभएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा–२, सहमहामन्त्री विपिन आचार्यले दाङ–२ र यसअघि काठमाडौँ–२ बाट निर्वाचित सोबिता गौतमले चितवन–३ बाट उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा–३, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–३ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिनुभएको छ ।
निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर–२, कुलमान घिसिङले काठमाडौँ–३, बब्लु गुप्ताले सिराहा–१ र महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । खरेल र गुप्ताले रास्वपाबाट उम्मेदवारी दिनुभएको हो । घिसिङले उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिनुभएको हो ।
आयोगले दियो धन्यवाद
मनोनयन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकोमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ । निर्वाचन आयोगमा आयोजित ‘प्रेस ब्रिफिङ’ मा कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा पनि व्यक्त गर्नुभयो । यो पटक प्रतिनिधि सभाको मात्र निर्वाचन भएकाले मतपरिणाम घोषणा चाँडो हुने पनि उहाँले बताउनुभयो ।