काठमाडौँ, माघ ६ गते । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ । विगत तीन दिनदेखि प्रतितोला रु. दुई लाख ७७ हजारभन्दा अधिक मूल्यमा किनबेच भएको पहेँलो धातु र चाँदीको मूल्य मङ्गलबार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु. पाँच हजार ८८० कायम भएको छ ।
गत आइतबार एक तोला छापावाल सुन रु. दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु. पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु. दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु. पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९० र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।