• २० फागुन २०८२, बुधबार

सर्लाहीमा उम्मेदवारी दर्ताको तयारी पूरा

blog

उम्मेदवारी दर्ताअघि सर्लाहीको निर्वाचन क्षेत्र नं. १ मा भएको सर्वपक्षीय बैठक । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, माघ ६ गते ।
सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा मङ्गलबार हुने उम्मेदवारी दर्ताका लागि तयारी पूरा भएको छ । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज सर्लाहीसहित देशैभर एकसाथ उम्मेदवारी दर्ता हुँदै छ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जिल्लामा चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयबाट गर्नु पर्ने सम्पूर्ण तयारीका काम पूरा भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनु भयो ।

प्रतिनिधि सभाको निर्वाचन गराउन सर्लाहीको क्षेत्र नं. १ मा लालबन्दी नगरपालिका १० नं. वडा कार्यालय, क्षेत्र नं. २ मा जिल्ला समन्वय समितिको कार्यालय मलङ्गवा, क्षेत्र नं. ३ मा मालपोत कार्यालय हरिवन र क्षेत्र नं. ४ मा वेणी भोला नमूना विद्यालय गोडैतामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । आज यि चारवटै क्षेत्रका उम्मेदवारहरूले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउन सक्ने छन् ।

साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयभित्र प्रवेश गरिसक्ने उम्मेदवारको मात्र उम्मेदवारी दर्ता हुने मुख्य निर्वाचन अधिकृत थपलियाले प्रष्ट पार्नु भयो । उहाँका अनुसार  चारवटै निर्वाचन क्षेत्रबाट केही उम्मेदवारले मनोनयन पत्र लिएर गइसकेका छन् ।

आजको मनोनयन दर्तालाई सौहार्दपूर्ण बनाउन सोमबार नै निर्वाचन अधिकृतको कार्यालयहरूले सर्वपक्षीय बैठकसमेत सम्पन्न गरेका छन् । क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापाले सर्वपक्षीय बैठक राखेर उम्मेदवारी दर्ता गर्न आउँदा निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी शान्तिपूर्ण किसिमले आइदिन आग्रह गरिएको बताउनु भयो ।

उहाँका अनुसार क्षेत्र नं. १ मा सोमबार बेलुकासम्ममा १५ जनाले मनोनयन फारम लिएर गएका छन् । उहाँले दलहरूलाई उम्मेदवारी दर्ता गर्न आउँदा एकै पटक नआएर पालैपालो गरेर आउन पनि आग्रह गरिएको बताउनु भयो । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवम् जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले मनोनयन दर्ताका लागि आवश्यक पर्ने सरसामग्री यसअघि नै चारवटै निर्वाचन क्षेत्रमा पठाइसकिएको बताउनु भयो ।

निर्वाचन अधिकृतको कार्यालयहरूले उम्मेदवारी दर्ताको तयारी पूरा गरेको छ भने धेरैजसो दलहरूले मङ्गलबार बिहानसम्म उम्मेदवार पनि टुङ्गो लगाइसकेका छन् । धेरै उम्मेदवारहरू उम्मेदवारी दिन पार्टीबाट टिकट लिएर सङ्घीय राजधानी काठमाडौँबाट जिल्ला आइरहेका बुझिएको छ ।