• २० फागुन २०८२, बुधबार

रौतहटका दुई निर्वाचन क्षेत्रमा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार

blog

कांग्रेसका सभापति गगन कुमार थापासँग टिकट दिनुहुँदै रौतहटका उम्मेदवार डा.फिरदोश आलम र देव प्रसाद तिमल्सिना । तस्बिर सौजन्य : सामाजिक सञ्जाल

प्रवीण कुमार शर्मा  
रौतहट, माघ ६ गते । 
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर २ मा डा.फिरदोश  आलम  र क्षेत्र नम्बर ४ मा देवप्रसाद तिमल्सिनालाई उम्मेदवार बनाउने भएको हो ।

पार्टीले आफुहरुलाई क्रमशः रौतहट–२ र ४ को उम्मेदवार बनाउने निर्णय गरेको भन्दै डा.आलम र तिमल्सिनाले एकै साथ नेपालि कांग्रेसका सभापति गगन कुमार थापासँग टिकट लिएको तस्बिर सार्वजनिक गर्नुभएको हो ।

डा. आलम नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमका छोरा हुनुहुन्छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा डा.आलमले २८ हजार २४८ मत ल्याई स्वतन्त्र उम्मेदवार किरण कुमार साहसँग चार हजार पाँच सय ९४ मतले पराजित हुनुभएको थियो ।

नेपाली कांग्रेसका सभापति थापासँग रौतहट –२ का लागि टिकट लिएपछि डा.आलमले आफू देश र जनताको सेवाप्रति पूर्ण रूपमा समर्पित रहने बताउनुभएको छ ।

चिकित्सक पृष्ठभूमिबाट राजनीतिमा आउनु भएका डा. आलम जनमुखी, सेवामुखी र समावेशी सोचका नेताका रूपमा चिनिनु हुन्छ । मुस्लिम समुदायबाट प्रतिनिधित्व गरे पनि उहाँले सबै धर्म, संस्कृति र आस्थाप्रति समान सम्मान रहेको स्पष्ट पार्दै आउनु भएको छ । उहाँका अनुसार राजनीतिक विभाजनको होइन, एकताको माध्यम हुनुपर्छ ।

निर्वाचनको सन्दर्भमा डा. आलमले आफ्नो क्षेत्रमा केही व्यक्तिले धार्मिक द्वन्द्व फैलाएर चुनावी फाइदा लिन खोजेको आरोप लगाउँदै त्यस्ता ‘ठग प्रवृत्ति’बाट सचेत रहन आम मतदातालाई आग्रह गर्नुभएको छ । धार्मिक सद्भाव र सामाजिक एकता रौतहटको पहिचान भएको उल्लेख गर्दै उहाँले नकारात्मक र भ्रामक राजनीतिलाई पराजित गर्नुपर्नेमा जोड दिनु भएको छ ।

क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार तिमल्सिना २०७९ को प्रतिनिधि सभा निर्वाचनमा विजयी हुनु भएको थियो । लगातार दुई  चोटी रौतहट– ४ बाट  विजयी हुनुभएको तिमल्सिना स्थानीय जनताको सुख दुःखमासँगै हिँड्ने नेताको रुपमा चिनिनुहुन्छ ।