हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र अनुशासित बनाउन मुस्ताङका राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् ।
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सर्वदलीय बैठकमा जिल्लामा क्रियाशील दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिता पालना गरी निर्वाचनलाई सघाउने प्रतिवद्धता जनाएका हुन् ।
मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि दलहरू प्रतिबद्ध रहेकाले निर्वाचनका लागि आवश्यक वातावरण निर्माण, सुरक्षा व्यवस्थासहितको तयारीमा कुनै कमी हुन नदिन अनुरोध गरेका छन् ।
बैठकमा नेपाली कांग्रेसका प्रतिनिधि गणेश शेरचन, नेकपा (एमाले) का अध्यक्ष दिपक लालचन, नेता विनोद विसी, नेपाली कम्युनिष्ट पार्टीका भिम रसाइली, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सचिना नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अजित थकालीले निर्वाचनको तयारीमा पार्टी जुटिसकेको बताउनुभयो ।
निर्वाचनको समयमा हुने आर्थिक चलखेल रोक्दै तथा अन्य आचारसंहिता उल्लङ्घनका घटनालाई न्यूनीकरणसहित देशकै नमुना निर्वाचन सम्पन्न भएको सन्देश प्रवाहमा सबै पक्षबाट सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश पौडेल, प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँड, प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामा, शसस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक भेषराज गिरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख विष्णुहरि पण्डित, कोष तथा लेखा नियन्त्रक शालिकराम सापकोटालगायत पत्रकार तथा नागरिक संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
सोही अवसरमा जिल्ला निर्वाचन अधिकृत लोकेन्द्र ज्ञवालीले हालसम्म जिल्लाभित्र गरिएका कार्यहरुका बारेमा जानकारी गराउनुभएको थियो । जिल्लाभित्र रहेका मतदानस्थलको निरीक्षण तथा आवश्यक पूर्वाधार थपसहित अन्य तयारीलाई तिब्रता दिइएको छ । मुस्ताङ जिल्लाको थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेको छ ।