शङ्कर केसी
सल्यान, माघ ५ गते । नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्ट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बन्नु भएको छ । उहाँलाई नेपाली कांग्रेसले आधिकारिक उम्मेदवार बनाएको हो । एक मात्र सङ्घीय निर्वाचन रहेको सल्यानमा विष्ट पहिलोपटक सांसद पदमा प्रतिस्पर्धा गर्न लाग्नु भएको हो । पूर्व जिल्ला समन्वय समिती सल्यानका प्रमुखको जिम्मेवारी पूरा गरिसकेका उहाँ गत स्थानीय तह निर्वाचनमा भने छत्रेश्वरी गाउँपालिका अध्यक्षमा पराजित हुनु भएको थियो ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सल्यानबाट पार्टीले विष्टसँगै सन्तोष केसी, एकराज डाँगी, मानबहादुर डाँगी, दिपेन्द्रकुमार खत्री र सुरेश चन्दको नाम सिफारिस गरेको थियो । पार्टी केन्द्रीय सभापति गगन थापाको हस्ताक्षरमा विष्टको नाममा औपचारिक पत्र आएको बताइएको छ ।
यससँगै हालसम्म सल्यानमा छ पार्टीका छ जना उम्मेदवारको टुङ्गो लागेको छ । नेकपा एमालेबाट गुलावजङ्ग शाह, नेपाली कम्युनिस्ट पार्टीमाट रमेशकुमार मल्ल, नेकपा (माओवादी) बाट चन्द्रबहादुर खड्का असल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललित चन्द र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिसा नेपाली प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेको बताइएको छ ।