• ५ माघ २०८२, सोमबार

धरानमा आइबिए बक्सिङ प्रो एन्ड एमेचर फाइट नाइट हुने

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

निशा राई 

धरान, माघ ५ गते । धरान उपमहानगरमा राष्ट्रिय स्तरको दास्रो आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट माघ २३ गते हुने भएको छ । 

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक धरान बक्सिङ संस्थाले खेलकुदको सहर धरानमा बक्सिङ खेलको प्रवर्धन तथा खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यसहित दोस्रो पटक धरान फाइट नाइट गर्न लागिएको धरान बक्सिङ संस्थाको सचिव महेश आले मगरले बताउनु भयो । 

खेलकुद क्षेत्रको विकास, विस्तार, सामाजिक कार्य, प्रतियोगिताको आयोजना, प्रशिक्षण लगायत कार्यमा युवाहरूलाई सहभागिता गराई खेलाडी युवाहरूलाई क्रियाशिल बनाउँदै उनीहरूमा सामाजिक उत्तर दायित्व निर्वाह गर्ने तथा समाज प्रति खेलकुदको माध्यमबाट जिम्मेवार बनाउने उद्देश्य यस संस्थाको रहेको संस्थाको अध्यक्ष दीपक राईले बताउनु भयो । प्रतियोगिता माघ २३ गते धरान–१५ स्थित किरात याक्थुम चुम्लुङमा हुने भएको छ । 

बक्सिङको विश्व सङ्घ आइबिएबाट मान्यता प्राप्त प्रो बक्सिङ सो प्रतियोगिता ‘फाइट नाइट’ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेका अनुभवी पेशेवर बक्सरहरूका साथै उदाउँदा एमेच्योर खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितमा ५७ केजी तौल समूहमा सिङ्गाबीर लिम्बू र एपीएफका प्रदीप महर्जनबिच प्रतिस्पर्धा हुने छ । गत वर्षको खेलमा लिम्बूले आर्मीका खेलाडीलाई पराजित गर्नु भएको थियो भने महर्जन अन्तर्राष्ट्रिय स्तरका पदक विजेता खेलाडी हुनु हुन्छ ।

५१ केजी महिला तौल समूहमा रमिशा श्रेष्ठ र एपिएफकी नान्जा बुढा मगर बिच प्रतिस्पर्धा हुने छ । दुवै खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जितिसकेका अनुभवी बक्सर हुनु हुन्छ । ६३ केजी तौल समूहमा धरान बक्सिङ क्लबका मनिष भुजेल र नक्साल बक्सिङ क्लबका बिबाश तामाङबिच प्रतिस्पर्धा हुने छ ।

त्यसै गरी ८० केजी तौल समूहमा नेपाल पुलिस क्लबका प्रदीप पौडेल र बक्समन्धु बक्सिङ क्लबका मनोज तामाङ भिड्नु हुने छ । प्रतियोगितामा पेशेवर खेलसँगै एमेच्योर खेलहरू पनि समावेश गरिएको छ । एमेचरतर्फ विद्यालय स्तर, युवा र एलिट गरी तीन डिभिजनमा प्रतिस्पर्धा हुने छ ।

विद्यालय स्तर ६३ केजीबाट नामसाङ लिम्बू र रमेश श्रेष्ठ, युवा डिभिजन ६३ केजी अन्तर्गत मौसम राई धरान र अभिनाश राई धनकुटा,एलिट डिभिजन ६३.५ केजी युनिक राई र वाङदी शेर्पाबिच हुने भएको छ ।

एलिट डिभिजनका दुवै खेलाडी धरान युवा च्याम्पियनसिप मार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेका खेलाडी हुन् । प्रतियोगितामा कुल १४ खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

‘फाइट नाइट’ मा प्रो फाइटका विजेताले पुरस्कार ५० हजार र उपविजेताले २० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी एमेचर खेलतर्फ विजेताले १० हजार र उपविजेतालाई नगद ५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

कार्यक्रममा धरान खेलकुद मञ्चको अध्यक्ष किशोर राई, कोच किशोर साम्वाहाम्फे, एसियन साफ मेडलिस्ट अनुप लामा, पत्रकार तथा मजदुर सङ्गठनको अध्यक्ष भीमज्वाला राई लगायतको उपस्थिति रहेको थियो ।