• ५ माघ २०८२, सोमबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

अनिल पराजुली 

हेटौँडा, माघ ५ गते । पूर्वपश्चिम सडक खण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१५, नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका ३७ वर्षीय देवेन्द्र भण्डारीको सोमबार बिहान मृत्यु भएको हो ।

हेटौँडा अस्पतालमा उपचारको क्रममा मोटरसाइकल चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

अमलेखगन्जबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ८ ख २४९७ नम्बरको ट्रकले गलत साइड च्याप्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको प्र.३–०३–००१ प ८८६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

ट्रकले गलत साइड च्यापेकाले मोटरसाइकल सडक किनारामा पल्टिन पुगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।ट्रक चालक मकवानपुर थाहा नगरपालिका–२ का ३२ वर्षीय सुनिल ढकाललाई इलाका प्रहरी चौकी रातोमाटेले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौनामा आइतबार सवारी दुर्घटना हुँदा एकजना घाइते हुनुभएको छ । पूर्व पश्चिम सडक खण्डमा सुनाचुरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४५ प २३४६ नम्बरको स्कुटरले मनहरी–७ बिजौनाकी आठ बर्षिया प्रतिभा बिकलाई बाटोक्रस गर्ने क्रममा ठक्कर दिएको हो । 

स्कुटरको ठक्करबाट विकको टाउको, बाँया खुट्टामा चोट लागेको छ ।घाइतेको मनहरी अस्पतालमा उपचार पश्चात थप उपचारका लागि भरतपुर लगिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।