• ५ माघ २०८२, सोमबार

पर्वले सामाजिक सहिष्णुता कायम गर्छ : प्रमुख देवकोटा

blog

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा । फाइल तस्बिर

अनिल पराजुली

हेटौँडा, माघ ५ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पर्व तथा चाडपर्वहरुले विविधताबिच सामाजिक सहिष्णुता, सद्भाव र बन्धुत्व कायम गर्न योगदान गर्ने बताउनुभएको छ । 

तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’ को अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक संरचनायुक्त नेपाली समाजमा तामाङ समुदाय एक महत्वपूर्ण अङ्ग रहेको उल्लेख गर्नुभएको छ । 

“तामाङ समुदायमा मनाइने यो मौलिक पर्वले हाम्रो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको सम्वर्धन एवं संरक्षणमा महत्वपूर्ण योगदान गर्दछ भन्नेमा म विश्वस्त छु” प्रदेश प्रमुख देवकोटाले सन्देशमा भन्नुभएको छ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा सोनाम ल्होसार मनाउने परम्परा रहेको उल्लेख गर्दै उहाँले हाम्रा मौलिक पर्वहरू अब राष्ट्रिय चाडको रूपमा आत्मसात् गरिएको बताउनुभयो । 

“सोनाम ल्होसार २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तामाङ समुदायका साथै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु” सन्देशमा भनिएको छ ।

नेपालको मध्यपहाडी भूभागदेखि हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायले सोनाम ल्होसार नाचगान, भेटघाट र सांस्कृतिक प्रदर्शनसहित उल्लासपूर्ण वातावरणमा मनाउँदै आउनुभएको छ । यस पर्वमा कुलपूजा, प्रकृतिपूजा, गुम्बा तथा चैत्यहरूमा पूजा, पारम्परिक पहिरन, तामाङसेलो नाच तथा बुद्धका तस्बिर अङ्कित ध्वजापताका टाँग्ने परम्परा रहेको छ ।