• ५ माघ २०८२, सोमबार

नेकपाबाट सल्यानमा रमेश मल्ललाई टिकट

blog

नेकपाबाट सल्यानबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रमेशकुमार मल्ल ।

शङ्कर केसी
सल्यान, माघ ५ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सल्यान जिल्लाबाट रमेश कुमार मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले लामो समयसम्म आन्तरिक छलफल र परामर्शपछि मल्ललाई उम्मेदवार बनाउने टुङ्गो लगाएको हो ।

उम्मेदवार चयनका क्रममा पूर्व मन्त्री प्रकाश ज्वाला, नेकपाका केन्द्रीय सदस्य टेकबहादुर बस्नेत तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा स्वकीय सचिवको जिम्मेवारी सम्हालिसक्नु भएका रमेशकुमार मल्लको नाम चर्चामा थियो । अन्ततः पार्टी निर्णय मल्लको पक्षमा गएको हो ।

जिल्लाबाट प्रत्यक्षतर्फ पाँच जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको थियो । पार्टी बैठकको निर्णय अनुसार धनबहादुर परियार र सीता विष्ट बस्नेतको नामसमेत सिफारिस भएकोमा प्रदेश कमिटीले प्रकाश ज्वाला, टेकबहादुर बस्नेत र रमेशकुमार मल्लको मात्र नाम केन्द्रमा सिफारिस गरेको थियो ।

युवा नेता मल्ल तत्कालीन माओवादी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षसमेत रहनु भएको छ । हाल उहाँ नेकपाका केन्द्रीय सदस्यका रूपमा सक्रिय रहनु भएको छ ।

प्रकाश ज्वाला सल्यान जिल्लाबाट पटक–पटक निर्वाचित हुँदै आउनु भएका अनुभवी नेता हुनु हुन्छ । उहाँ २०७९ मा प्रतिनिधिसभा सदस्य, २०७४ मा कर्णाली प्रदेशसभा सदस्य, २०७० मा संविधानसभा सदस्य तथा २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसक्नु भएको छ । ज्वाला पूर्व नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्षसमेत रहनु भएको र हाल दुई पार्टी संयोजन समितिको कार्यदल सदस्यको जिम्मेवारीमा हुनु हुन्छ ।

त्यसैगरी नेकपाका केन्द्रीय सदस्य टेकबहादुर बस्नेत पनि अनुभवी राजनीतिज्ञका रूपमा परिचित हुनु हुन्छ । उहाँ २०७४ मा प्रतिनिधिसभा सदस्य, २०६४ मा पहिलो संविधानसभा सदस्य, २०७० मा दोस्रो संविधानसभा सदस्य तथा २०६३ सालमा अन्तरिम व्यवस्थापिका सांसद सदस्यका रूपमा कार्य गरिसक्नु भएको छ ।

यसैबिच पार्टीले मल्ललाई उम्मेदवार बनाएको निर्णयप्रति नेकपाका नेता तथा सल्यानबाट उम्मेदवारका आकाङ्क्षी ज्वालाले समर्थन जनाउनु भएको छ । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ज्वालाले पार्टीभित्र सिफारिस भएका उम्मेदवारहरू बिचको सहमति, वर्तमान राजनीतिक परिस्थिति र समयको मागलाई ध्यानमा राख्दै पार्टी संयोजक, सहसंयोजकको नेतृत्वमा निर्णय गरेको उल्लेख गर्नु भएको छ ।

सो निर्णय अनुसार रमेश मल्ललाई सल्यान जिल्लाबाट पार्टीको आधिकारिक उम्मेदवारका रूपमा अघि सारिएको उहाँले स्पष्ट गर्नु भएको छ । ज्वालाले यसपटक सल्यानले नयाँ अनुहार र युवा नेताका रूपमा रमेश मल्ललाई उम्मेदवार पाएको उल्लेख गर्नु भएको छ ।