• ५ माघ २०८२, सोमबार

सोनाम ल्होसारले आपसी सद्भाव र समृद्धिको यात्रा बलियो बनाउँछ : मुख्यमन्त्री कार्की

blog

खेमराज सापकोटा 

रानी, माघ ५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तामाङ समुदायको प्रमुख तथा ऐतिहासिक पर्व सोनाम ल्होसारको अवसरमा प्रदेश तथा देशविदेशमा रहनु भएका सम्पूर्ण नागरिकमा शुभकामना व्यक्त गर्नु भएको छ । 

मुख्यमन्त्री कार्कीले पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षको स्वागत गर्ने परम्परालाई प्रतिबिम्बित गर्ने बताउनुभएको छ । तामाङ समुदायको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचानसँग यो पर्व गहिरो रूपमा जोडिएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले परम्परागत पोशाक, सङ्गीत, नाचगान तथा विविध परिकारका माध्यमबाट उल्लासपूर्वक मनाइने सोनाम ल्होसारले आपसी सद्भाव, सामाजिक एकता र समृद्धिको यात्रामा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । 

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उहाँले यही विविधताले नै हाम्रो संस्कृति र गौरवलाई समृद्ध बनाएको बताउनु भयो । कोशी प्रदेश सरकार स्थापना कालदेखि नै विभिन्न समुदायका चाडपर्व, भाषा, संस्कार र परम्पराको संरक्षण तथा संवर्धनलाई प्राथमिकतामा राख्दै अगाडि बढिरहेको उहाँको भनाइ छ ।

यस्ता पर्वहरूको संरक्षण र प्रवर्धनले सबै समुदायको पहिचान, आस्था र जीवनशैलीलाई स्थापित गर्न सहयोग पुग्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले पर्वहरूको उमङ्गसँगै आपसी सद्भाव र सहयोगी भावनाले राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो । यसले “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने उहाँको भनाइ छ ।