• ५ माघ २०८२, सोमबार

प्राप्त उपलब्धिको संरक्षण मा लाग्नु पर्नेमा अध्यक्ष दाहालको जोड

blog

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाडौँ, माघ ५ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको संरक्षण र विकासमा सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको छ ।

तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा सोमबार स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा  शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नु भयो, “नेपाली जनताको महान त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको छ, प्राप्त उपलब्धिको संरक्षण र विकास गर्न यो समुदायले अझै महत्त्वपूर्ण भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।”

तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने सोनाम ल्होसार पर्वले समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गर्दै उहाँले यस पर्वले सबै जातजातिका समुदायबिच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने आशा व्यक्त गर्नु भएको छ । रासस