• ५ माघ २०८२, सोमबार

रास्वपाका वरिष्ठ नेता शाहद्वारा सहिदको सालिकमा माल्यापर्ण

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता लहानको मुख्य चोकमा रहेको सहिद पार्कमा माल्यार्पण गर्नुहुँदै । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, माघ ५ गते ।
लहानको मुख्य चोकस्थित मधेश आन्दोलनका सहिद पार्कमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सोमबार बिहान सहिदहरूको सालिकमा माल्यार्पण गर्नुभएको छ । शाहसँगै आएका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि सहिदहरूको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

२०६३ सालमा लहानबाट सुरु भएको मधेश आन्दोलनका क्रममा माघ ५ गते रमेश महतो, बेचन यादव, विजय सहनी, मोहम्मद अनिस अन्सारी र प्रमोद सदायले ज्यान उत्सर्ग गर्नुभएको थियो । अत्यधिक भीडका कारण शाहले सम्बोधन नगरी करिब २० मिनेटपछि जनकपुरतर्फ प्रस्थान गर्नुभयो । पहिलो पटक लहान आइपुग्नुभएका शाहलाई हेर्न बिहानैदेखि सहिद पार्कमा युवा, महिला तथा विभिन्न उमेर समूहका मानिसहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

मधेश प्रदेशमा शाहको उपस्थितिले उहाँ प्रतिको आकर्षण बढेको देखिएको छ । अन्य दलका समर्थकहरू पनि उहाँलाई हेर्न ठूलो संख्यामा उपस्थित भएका थिए । मधेश आन्दोलनका सहिद बेचन यादवकी पत्नी रामपरी देवी यादवले बालेनलाई स्वागत गर्दै भन्नुभयो, “सहिद परिवारलाई जीवनयापनका लागि कुनै रोजगारी दिइएको छैन । बालेन्द्र शाह प्रधानमन्त्री भएपछि केही गर्नुहुनेछ भन्ने आश छ । उहाँलाई आशीर्वाद दिन आएका छौँ ।”

मधेश आन्दोलनको सहादतलाई १९ वर्ष बित्न लाग्दा पनि लहानका विजय सहनी, अनिस अन्सारी र बेचन यादवका परिवारसँग सुख–दुःख बुझ्न स्थानीय सरकारका जनप्रतिनिधिहरूले चासो नदेखाएको सहिद परिवारले गुनासो गरेका छन् ।

सङ्घीयताको पक्षमा सहादत भएका सहिदहरूको स्मृतिमा निर्मित सहिद पार्कमा रास्वपाले प्रधानमन्त्रीका रूपमा घोषणा गरेका शाहले सङ्घीयताको रक्षाबारे के धारणा राख्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण रहेको जनमत पार्टीका केन्द्रीय सदस्य तथा मधेश आन्दोलनका युवा नेता बालेश्वर यादवले बताउनुभयो । “उहाँले आज माल्यार्पण मात्रै गर्नुभयो । जनकपुरमा सङ्घीयताको रक्षाबारे उहाँको स्पष्ट धारणा आउनुपर्छ,” उहाँले भन्नुभयो ।

माघ ५ गते सहिदहरूको सालिकमा मधेश र सङ्घीयताको पक्षधर जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायत दलका शीर्ष नेताहरूको लहान आगमन हुँदै आएको छ । सहिदहरूको सालिकमा माल्यार्पण, महत्वपूर्ण घोषणा तथा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रमका कारण यो दिनलाई स्थानीयवासीले ‘सहिद मेला’ भनेर पनि चिन्ने गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालको तर्फबाट मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री राजकुमार गुप्ता र श्रम तथा यातायात मन्त्री मनिष कुमार सुमनको आगमन हुने जसपा नेपालका केन्द्रीय सदस्य तथा सिरहा–१ बाट उम्मेदवार सत्यनारायण यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सहिद परिवारको जीवनयापनका लागि रोजगारीको ग्यारेन्टीसम्बन्धी घोषणा हुने अपेक्षा गरिएको छ ।

यता जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको आगमनसँगै युवा भेला तथा स्वयंसेवक गठनको कार्यक्रम तय भएको जनमत पार्टीका केस यादवले जानकारी दिनुभयो ।

माघ ५ गते सहादत भएका पाँच जनामध्ये बेचन यादव बाहेक चार जना अविवाहित, विद्यालय तहका युवाहरू रहेको उल्लेख गर्दै जेन–जी आन्दोलनमा सक्रिय लहानका विष्णु गुप्ताले ती बलिदानीको महत्व नबुझिँदा देशमा जेन–जी आन्दोलन उठ्नुपरेको बताउनुभयो । देशमा बढ्दो भ्रष्टाचार र कुशासनविरुद्ध गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ७४ जना युवाले ज्यान गुमाएको उहाँको भनाइ छ ।

“जेनजी आन्दोलनका सहिदसहित मधेश आन्दोलनयता लहानबाट ६ जनाले बलिदानी दिएका छन् । सहिदको सपना साकार गर्ने उद्घोषसहित रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाह लहान आउन लाग्नुभएको छ,” जेन–जी सिरहाका सल्लाहकार सुदिप कुशवाहाले जानकारी दिनुभयो ।