काठमाडौँ, माघ ४ गते । नेपाली सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा भद्रकालीमा बृहत सैन्य प्रदर्शनी सुरु भएको छ ।
नेपाली सेनाको इतिहास र योगदानसहित निर्वाह गर्दै आएका विविध गतिविधिहरू आम नागरिकसम्म पुर्याउने उद्देश्यले सैनिक मुख्यालयले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ सुरु गरेको हो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरणहरूको विशेष प्रदर्शनी गरिएको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले गैर सैनिकतर्फ तीन जना र सैनिकतर्फ तीनजना गरी छ जना उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कार प्रदान गर्नुभयो।
प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाइसेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षा, शान्ति स्थापनार्थ नेपाली सेनाको योगदान झल्कने विशेष प्रदर्शनी राखिएको छ ।
विकास निर्माणसम्बन्धि राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था, विपद् व्यवस्थापनमा सेनाको भूमिका, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदसँगै राष्ट्रिय सेवा दलले बहन गर्ने जिम्मेवारीसहितको प्रस्तुति समेत प्रदर्शनीमा देख्न सकिन्छ ।

विज्ञान र प्रविधिको विकाससँगै मानिसको जनजीवनमा प्रविधिको प्रयोगबाट हुनसक्ने सहजताबारे सैनिक महाविद्यालय भक्तपुर, रिपुमर्दीनी सैनिक महाविद्यालय बाँसबारीमा अध्यनरत छात्रछात्राहरूले तयार पारेको प्रविधि, कला चित्रकला लगायतका विशेष प्रस्तुति प्रदर्शनीका आर्कषण बनेका छन् ।
यसका साथै सशस्त्र विद्रोहमा नेपाली सेनाले प्रयोग गरेका हातहतियार, गोलीगठ्ठा बख्तरबन्द तथा बस्दो बस्तीका लागि प्रयोग गरेका हातहतियारसहित जङ्गलवा र हवाई युद्धमा प्रयोग गरिने उपकरणहरु प्रदर्शनीमा राखिएको छ । नेपाली सेनाले प्रदर्शनमा विस्फोटक पदार्थ निष्क्रिय गर्दा अपनाउने विधि, प्राकृतिक तथा दैवि प्रकोपका वेला सेनाले गर्ने उद्धारको विशेष प्रस्तुति राखिएको छ ।
उक्त प्रदर्शनमा पहिलो र दोस्रो विश्वयुद्धमा नेपाली सेनाले सङ्कलन गरेका विभिन्न दुर्लभ तस्बिरका साथै सैन्य कारवाहीका बेला नेपाली सेनाले गरेको विशेष तयारीका तस्बिरहरु समेत राखिएको छ । आइतबार प्रधानसेनापति अशोकराज सिग्देलले उदघाटन गर्नुभएको विशेष सैन्य तथा फोटो प्रदर्शनी बुधबारसम्म चल्ने छ ।
उक्त प्रदर्शनीमा आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिहरू जानकारी लिने र इतिहासबारे जानकारी हासिल गर्न सहज हुने सैनिक मुख्यालयले जनाएको छ ।


