काठमाडौँ, माघ ४ गते । एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी विन्दु चौधरी २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला ५० केजीमुनि आइतबार फाइनलमा प्रवेश गर्नुभएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा अनिशाले केडबलुडब्लुकी सुप्रिया गुरुङ तथा विन्दुले एपीएफकी निसा सुनुवारलाई पराजित गर्नुभयो ।
नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ५५ केजीमाथि सेमिफाइनलमा एपीएफकी सुमित्रा नगरकोटीले केडब्लुडब्लुकी रसिला श्रेष्ठ तथा आर्मीकी सपना ऐडीले आर्मीकै अप्सरा कुमाललाई हराउदै फाइनल भिडन्त पक्का गर्नुभयो ।
पुरुष खुला तौलसमूहमा सनीसिंह सुनुवारले आईएफकेकेका कृष्ण मण्डल, भुपेन्द्र ओलीले केडब्लुडब्लुका सुकुराम तामाङ, विष्णु थापा मगरले आर्मीका रविन्द्र लोहार र प्रवीण माझीले एपीएफका भूपेन्द्र विश्वकर्मालाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । सेमिफाइनल पुग्ने चारै खेलाडी आर्मीका हुनुहुन्छ ।
प्रतियोगिताको आयोजक सङ्घका संस्थापक अध्यक्ष जगतप्रसाद गौचनले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । दुई दिने प्रतियोगिताको पुरुषमा एक र महिलामा दुई गरी तीन स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
सातै प्रदेश, नेपाल आर्मी र एपीएफबाट एक सय खेलाडीको सहभागिता रहेको आयोजक सङ्घका सदस्य गोपीचन्द्र शर्माले जानकारी दिनुभयो ।