• ४ माघ २०८२, आइतबार

बाँकेमा निर्वाचन प्रहरीमा चार हजार ८२८ जनाको आवेदन

blog

सिराज खान

नेपालगन्ज, माघ ४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा सुरु गरिएको निर्वाचन प्रहरी भर्ना अन्तर्गत चार हजार ८२८ जनाले आवेदन दिएका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले दिनु भएको जानकारी अनुसार जिल्लामा दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्नका लागि आवेदन माग गरिएकोमा दोब्बर बढी चार हजार ८२८ जनाले आवेदन दिएका हुन् । 

जिल्लाको तीन वटा निर्वाचन क्षेत्रका ४०० मतदान केन्द्रमा अन्य सुरक्षाकर्मीसँगै खटाउनका लागि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरी भर्ना गर्ने कार्य गरिरहेको उहाँले बताउनु भयो । 

आवेदन दिएका चार हजार ८२८ जना मध्ये दुई हजार ४९१ जनाको छनोट गर्नका लागि माघ ५ गतेदेखि ७ गतेसम्म आवेदकहरूको शारीरिक परीक्षण र शारीरिक सहिष्णुता परीक्षा सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले बताउनु भयो । 

उहाँका अनुसार माघ ५ गते दर्ता नम्बर १ देखि १६०० सम्मका, माघ ६ गते दर्ता नम्बर १६०१ देखि ३२०० सम्मका र माघ ७ गते ३२०० देखि माथि सबैको शारीरिक परीक्षण र शारीरिक सहिष्णुता परीक्षा हुने छ । 

दुई सिफ्टमा गरिने सो परीक्षाका लागि सार्वजनिक सूचना समेत जारी गरिसकिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति बाँकेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेर दरखास्त लिने कार्य सम्पन्न गरिसकेको छ । 

समितिले निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकबाट दरखास्त लिएको छ । बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता सङ्ख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले जानकारी दिनु भयो ।

बाँकेमा १३९ मतदान स्थल र ४०० मतदान केन्द्र रहेको पनि जिल्ला निर्वाचन कार्यालयका प्रमुख शाहीले बताउनु भयो ।