• ४ माघ २०८२, आइतबार

दलहरूलाई उम्मेदवार चयन गर्ने चटारो

blog

बोमलाल गिरी

नवलपुर, माघ ४ गते । प्रतिनिधि सभा सदस्यका लागि मनोनयनको समय नजिकिँदै गर्दा नवलपुरबाट टिकट पाउन नेताहरूको दौडधुप बाक्लिएको छ । दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा अहिलेसम्म नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मात्र उम्मेदवार टुङ्गो लगाएका छन् भने अन्य दल छलफमै व्यस्त छन् । 

क्षेत्र नम्बर १ बाट एमालेले भागिरथ सापकोटा र नेकपाले लोकप्रसाद भुर्तेललाई उम्मेदवार बनाएका छन् भने २ नम्बरमा एमालेले तिलक महत र नेकपाले गणेशमान महतोलाई उम्मेदवार बनाएका छन्।

क्षेत्र नम्बर १ बाट रास्वपाले राजन गौतमलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ भने २ नम्बरमा तीन जना आकाङ्क्षी देखिएका छन् । रास्वपा गण्डकीका सभापति राजन गौतमका अनुसार २ नम्बरमा डा. पुष्पमणि खराल, मनिस खनाल र दोमन भण्डारी आकाङ्क्षी रहेका छन् ।

कांग्रेस भने लामो समयसम्म आन्तरिक विवादमा रुमलिँदा अझै उम्मेदवार निर्क्याैल गर्न सकेको छैन । क्षेत्र नम्बर १ मा चार र २ मा पनि चार जना आकाङ्क्षी देखिएका छन् । कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेका अनुसार १ नम्बरमा बालकृष्ण घिमिरे, अमृत भट्टचन, डा. शशाङ्क कोइराला र गजेन्द्र बहादुर आलेले दाबी गरिरहेका छन् । 

त्यस्तै २ नम्बरमा विष्णु कार्की, विष्णु लामिछाने, ओम बहादुर थापा र शङ्कर तिवारीले आकाङ्क्षा व्यक्त गरेका छन् । लामिछानेले उम्मेदवार चयन गर्ने छलफल जारी रहेकाले आजै साँझसम्म टुङ्गाउने बताउनु भयो । अघिल्लो निर्वाचनमा क्षेत्र नं. १ बाट कांग्रेसका डा. शशाङ्क कोइराला र २ नं. बाट पनि कांग्रेसकै विष्णुकुमार कार्की निर्वाचित हुनु भएको थियो ।