अमरराज नहर्की
तनहुँ, माघ १ गते । तनहुँका मगर बस्तीहरू यतिबेला माघे सङ्क्रान्तिको उल्लासमा झुमेका छन् । मगर समुदायको बाहुल्यता रहेको यस जिल्लामा आफ्नो प्रमुख सांस्कृतिक चाडको अवसरमा दमौली बजारसहित विभिन्न स्थानमा विशेष रौनक देखिएको छ ।
बिहीबार दमौलीको अनसन चौतारीबाट मगर परम्परागत भेषभूषामा सजिएका युवायुवती तथा ज्येष्ठ नागरिकहरूको ठुलो र्याली निकालिएको छ । र्यालीमा सहभागीहरूले आफ्ना मौलिक बाजागाजा बजाउँदै कौरा साथै विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिरहेका छन् ।
मगर संस्कृतिका अध्येता यमबहादुर आलेका अनुसार माघे सङ्क्रान्ति मगर जातिका लागि केवल पर्व मात्र नभएर यो पितृ पूजा र प्रकृतिको आराधना गर्ने मुख्य समय पनि हो । उहाँले यस पर्वमा विशेषगरी तरुल, भ्याकुर, खिचडी र बटुक जस्ता परिकार खाएर रमाइलो गर्ने चलन रहेको बताउनु भयो । आलेका अनुसार पुर्खाको सम्मान र प्रकृतिसँगको सामीप्यतालाई जोड दिने यो पर्वले मगर समुदायको छुट्टै पहिचान बोकेको छ ।
त्यस्तै, नेपाल मगर सङ्घ व्यास नगर समिति तनहुँको अध्यक्ष दिलु थापा मगरले यो पर्वले छरिएर रहेका समुदायलाई एकताको सूत्रमा बाँध्ने काम गरेको उल्लेख गर्नु भयो । मगर समुदायको मौलिक संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न यस्ता र्याली र सांस्कृतिक कार्यक्रमहरूले ठुलो भूमिका खेल्ने उहाँको भनाइ छ ।
दमौली बजार परिक्रमा गर्दै निकालिएको उक्त र्यालीकाे मगर समुदायका विभिन्न सङ्घ–संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो भने सडकभरि कौरा नाच हेर्ने दर्शकहरूको समेत बाक्लो उपस्थिति देखिएको थियो ।