• ३० पुस २०८२, बुधबार

मानाभरा गोल्डकपबाट आयोजकलाई फाइदा

blog

मानाभरा गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्दै क्लबका पदाधिकारीलगायत।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ३० गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२, खेजेनिममा आयोजना गरिएको प्रथम आमन्त्रित मानाभरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ बाट आयोजकलाई फाइदा भएको छ। प्रतियोगिताबाट आयोजक मानाभरा स्पोर्टिङ क्लबलाई करिव साढे पाँच लाख रुपियाँ फाइदा भएको हो।

गोल्डकप प्रतियोगिता सम्पन्न भएको डेढ सातापछि नै बुधबार सार्वजनिक सुनुवाइ तथा आयव्यय सार्वजनिक गर्दै क्लबलाई पाँच लाख ३७ हजार ९२५ रुपियाँ फाइदा भएको जनाएको छ। क्लबका संरक्षक एवम् फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास) का अनुसार प्रतियोगितामा भएको खर्च (व्यय) कटाएर उक्त रकम बचेको अर्थात बचत भएको हो।

प्रतियोगिता सञ्चालन गर्दा कुल २२ लाख २१ हजार ९२५ रुपियाँ आम्दानी भएको क्लबका संरक्षक एवम् गाउँपालिका उपाध्यक्ष साम्राले जानकारी दिनु भयो। उहाँका अनुसार आय रकममध्ये सहयोगी दाताहरूबाट १५ लाख ६९ हजार ८४३ रुपियाँ प्राप्त भएको छ। त्यस्तै गाउँपालिका तथा वडाबाट तीन लाख ५० हजार र अन्य सङ्घ संस्थाबाट प्राप्त भएको रकम तीन लाख दुई हजार ८२ रुपियाँ रहेको छ।

यता प्रतियोगितामा भएको खर्च (व्यय) रकम १६ लाख ८४ हजार रुपियाँ रहेको छ। व्ययतर्फ प्रतियोगिताको विजेता र उपविजेतालाई पुरस्कार राशिअन्तर्गत प्रदान गरिएको कुल चार लाख ५४ हजार १६४ रुपियाँ रहेको छ। जसमा विजेतालाई तीन लाख दुई हजार ८२ रुपियाँ र उपविजेतालाई एक लाख ५२ हजार ८२ रुपियाँ प्रदान गरिएको थियो। 

प्रतियोगितामा पुरस्कारबाहेक व्यवस्थापन, सञ्चालन लगायतमा अन्य खर्च भएको मानाभरा स्पोर्टिङ क्लबका अध्यक्ष तुलसी दाहालले जानकारी जानकारी दिनु भयो। अध्यक्ष दाहालका अनुसार प्रतियोगितामा आमन्त्रित पाहुना टोली लिखुभुजी रामेछाप क्लबसहित आठ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता गत पुस १५ देखि १९ गतेसम्म सञ्चालन भएको थियो।