• ३० पुस २०८२, बुधबार

कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि

blog

काठमाडौँ, पुस ३० गते । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयनका लागि आज राति ८ बजेदेखि मतदान हुने भएको छ । 

नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले केहीबेर अगाडि एक सूचना जारी गरी मतदान राति ८ बजेदेखि सुरु हुन लागेको जानकारी दिएको हो ।

निर्वाचन समितिका अनुसार प्रथम नामावली प्रकाशन दिउँसो ४ बजेसम्म, उम्मेदवारपछिको दाबी विरोध ४:३० बजेसम्म, उम्मेद्वारमाथिको दाबी विरोध छानबिन ५ बजेसम्म तोकिएको निर्वाचन समितिका संयोजक, वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनु भयो । 

यस्तै, पुनः नामावली प्रकाशन ५:०५ बजेसम्म, उम्मेदवार मनोनयन दर्ता फिर्ता ५:३५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ६ बजेसम्म र मतदान सुरु राति ८ बजेदेखि गरिने निर्वाचन समितिका संयोजक केसीले बताउनु भयो ।

पार्टीको पुरानै विधान अनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्य पदमा मतदान हुने छ । 

विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समितिको रहने व्यवस्था अनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो । 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेका बाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधी रहेका छन् ।