• ३० पुस २०८२, बुधबार

उत्कृष्ट कृषकलाई नगदसहित सम्मान

blog

उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरिँदै । तस्बिरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, पुस ३० गते । स्याङ्जाको बिरुवा गाउँपालिकाले पालिकाभित्रका दुई जना अगुवा कृषकलाई नगदसहित सम्मान गरेको छ । गाउँ सभाको १८ औं अधिवेशनको अवसरमा कृषकहरू प्रेमबहादुर राना र देवबहादुर रानालाई ‘अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार–२०८२’ प्रदान गरेको हो । प्रेमबहादुर कृषितर्फ र देवबहादुर पशुपक्षीतर्फ सम्मानित हुनु भएको हो । 

पालिकामा दर्ता भई उत्पादनमा सक्रिय रहेका कृषकलाई पालिकाले प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिनु भयो । यसैगरी शिक्षातर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरिएको उहाँको भनाइ छ ।

चार विधेयक पारित 

गाउँ सभाले चारवटा विधेयक पारित गरेको छ । अधिवेशनले बाँझो जग्गा उपयोग तथा भूमि बैँक सञ्चालन विधेयक २०८२ पारित गरेको छ । यसैगरी सार्वजनिक निजी साझेदारीसम्बन्धी विधेयक २०८२, स्थानीय मदिराजन्य पेय पदार्थको व्यवस्थापन गर्न बनेको विधेयक २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ पारित गरेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनु भयो ।