काठमाडौँ, पुस ३० गते । हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा पुष्पसदन हाईस्कुलका लियोन महर्जनले तेस्रो जित निकाल्नुभएको छ ।
१२ वर्षीय लियोनले जित निकाल्ने क्रममा दुई घन्टा ४५ मिनेटको प्रतिस्पर्धापछि १६०५ रेटेड हार्दिक पन्तलाई हराउनुभयो ।
हिमालयन च्यालेन्जर्सको तेस्रो चरणका खेल सकिदा अनरेटेड लियोनले तीनै खेलमा रेटेड खेलाडीलाई हराउनुभएको छ ।
उहाँले पहिलो चरणमा ईश्वर लामा (१५५१) र दोस्रो चरणमा अनमोल राई (१५३४) लाई पराजित गर्नुभएको थियो । उहाँले चौथो चरणमा १६०७ रेटेड रोहित श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।
स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक चरणको खेल हुनेछ । प्रत्येक चरणमा खेलाडीलाई ९० मिनेटसँगै ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ ।
माघ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागी छन् ।