प्रेमराज सिम्खडा
कालीकोट, पुस ३० गते । गत भदौ यता पानी नपर्दा हिउँदेबाली सुक्न थालेको छ । जिल्लाका अधिकांश क्षेत्र यतिबेला पानी नपरेका कारणले सुख्खा बन्दै गएका छन् भने पिउने पानीका मुहानसमेत सुक्न थालेका छन् । पाँच महिनासम्म पानी नपर्दा बालीमा मात्र होइन पानीका मुहानमा प्रभाव परेको छ ।
आकासे पानी नपर्दा गहुँबाली सुक्दै गएका छन् भने पानीका स्रोतहरु सुक्न थालेपछि पिउने पानीको अभाव हुँदै आएको छ । सदरमुकाम मान्ममा सधैँ पानीको अभाव थिये, तर खडेरीका कारणले गाउँमा पनि पिउने पानीको अभाव हुन थालेको स्थानीयको गुनासो छ । रास्कोट ९ का हंसराज न्यौपानेले फुकोट क्षेत्र सिँचाइदेखि पिउने पानीको अभाव नहुने भए पनि लामो समयको खडेरीले समस्या देखिन थालेको बताउनुभयो ।
हाम्रो गाउँमा पिउनेदेखि खेत सिँचाइ गर्ने कुलाको पानीको अभाव खासै हुँदैनथ्यो । तर पछिल्लो समय पानी पर्न छोडेपछि सिँचाइसँगै पिउने पानीको स्रोत पनि घटिरहेको उहाँले बताउनुभयो । कृषक न्यौपानेले भन्नुभयो, ‘‘खेतमा सिँचाइ गर्ने कुलामा पानी नै छैन । पानी परेमा हिमपात भएमा घाम लाग्दा हिउँ पग्लेर फुगाढमा पानीको बहाव बढ्दा सिँचाइ गर्न सहज हुन्थ्यो, अहिले पानी नपरेकाले सिँचाइ त परैको कुरा पिउने पानीको समेत समस्या भएको छ ।’’
पानीको स्रोत राम्रो भएको रास्कोट नगरपालिकामा यस्तो समस्या छ भने जहाँ आकासे पानीको भरमा खेती लगाउने पलाँता क्षेत्रको हालत के होला भन्दै न्यौपानेले चिन्ता व्यक्त गर्नुभयो । पलाँता १ का विनोद न्यौपानेले असोजमा छरेको जौँ र गहुँ पूरै खडेरीका कारणले सुक्न थालेको बताउनुभयो ।
गहुँ लगाएको क्षेत्रमा धुवाँ उडिरहेको छ, यहाँ पिउने पानीको सधैँ अभाव हुने ठाउँमा सिँचाइको त कल्पना पनि नगरे हुन्छ, उही आकासे पानीको भरमा खेती गर्ने हो, वर्षातको समयमा छरेको खेती उम्रिन मात्र सकेको र बाँकी त जमिन बाँझै रहेको न्यौपानेको भनाइ छ ।
पानी परेमा माघको दोस्रो हप्तासम्म गहुँ छर्दा पनि उत्पादन राम्रै हुन्छ, तर पानी पर्ने छाँटकाँट छैन त्यसैले यहाँका नागरिकले आशा मारिसकेको उहाँ बताउनुहुन्छ ।
पुस सकिने र माघको सुरु हुने समयमा पानी पर्ने किम्बदन्ती छ । आकाशको अवस्था हेर्दा पानी पर्छ जस्तो त लाग्दैन खाँडाचक्र नगरपालिका २ का बिर्ख सुनारले भन्नुभयो । पुरानो चलन अन्य समयमा पानी नपरेको खण्डमा हिउँदको शुभसाइत भनेको माघको १ गतेसम्म पानी पर्छ भन्ने हो, तर पछिल्लो समय त्यो पनि खासै लागू भएको देखिँदैन सुनारले भन्नुभयो । पानी नपरेकाले बाली पूरै सुक्न थालेकाले चिन्ता बढिरहेको छ ।