ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस ३० गते । म्याग्दीको बेनी नगरपालिका–७, बेनी बजारका एक परिवारले आफ्ना दिवंगत बुबा–आमाको स्मृतिमा सामाजिक सेवाका लागि पाँच लाख राशीको अक्षयकोष स्थापना गरेको छ ।
दिवंगत आमा पुतलीदेवी र बुबा लक्ष्मीप्रसाद श्रेष्ठको सम्झनामा उहाँका छोरा, बुहारी तथा छोरी–ज्वाइँले “पुतलीदेवी–लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान” स्थापना गरी जिल्लाको शैक्षिक, साहित्यिक तथा सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई हरेक वर्ष सम्मान तथा पुरस्कृत गर्ने उद्देश्य राखिएको छ ।
छोरा बुहारीहरु सञ्जयकुमार–सानुहरी श्रेष्ठ, अजयमिलन–सृजना श्रेष्ठ, हृदयकुमार–पद्यमा श्रेष्ठ, धनञ्जयकुमार–सन्ध्या श्रेष्ठ, विनय–कल्पना श्रेष्ठ र छोरी ज्वाई सुनितादेवी–रामलाल श्रेष्ठले स्थापना गर्नुभएको कोषबाट हरेक वर्ष म्याग्दीको सामाजिक, शैक्षिक र साहित्यिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई पुरस्कृत तथा सम्मान गरिने जनाइएको छ ।
प्रतिष्ठानले पहिलो चरणमा म्याग्दीको शैक्षिक विकासमा उल्लेखनीय योगदान दिएका तीन जनालाई अभिनन्दन गर्ने घोषणा गरेको छ ।
विभिन्न कालखण्डमा म्याग्दीको शिक्षा क्षेत्रको विकासमा योगदान दिनुभएका काठमाडौँ निवासी गोपाल नारायण भट्टचन, बेनी बजार निवासी भिमप्रसाद गौचन र दरबाङ निवासी शिवनारायण फगामीलाई अभिनन्दन गर्न लागिएको प्रतिष्ठानका संस्थापक सदस्य सञ्जयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले आगामी दिनमा प्रतिष्ठानको अक्षयकोषको रकमलाई बढाउने र कोषको ब्याज रकमबाट हरेक वर्ष जिल्लामा शैक्षिक, साहित्यिक तथा साँस्कृतिक क्षेत्र मार्फत सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मानसहित पुरस्कृत गरिने उहाँले बताउनुभयो ।
बुबा–आमाले समेत जिल्लाको शैक्षिक तथा सामाजिक र साँस्कृतिक क्षेत्रमा योगदान दिनुभएको र उहाँहरुको प्रेरणाले आफूलाई समेत त्यसतर्फ प्रेरणा मिलेकाले दिवंगत बुबा आमाको सम्झनामा स्मृति प्रतिष्ठान स्थापना गरेको श्रेष्ठ परिवारको भनाइ छ ।