पुरुषोत्तम सुवेदी
पश्चिम् नवलपरासी, पुस ३० गते । पश्चिम नवलपरासीका स्थानीय तहहरू यतिबेला आफ्नो अर्धवार्षिक समीक्षा र नयाँ नीति निर्माणमा जुटेका छन् । यसै क्रममा बर्दघाट नगरपालिका, सुनवल नगरपालिका र सरावल गाउँपालिकाले आफ्ना नगर तथा गाउँसभा सम्पन्न गर्दै पर्यटन प्रवर्धन, कानुन निर्माण र बजेट संशोधनका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका छन् ।
बर्दघाट नगरपालिकाः पर्यटन अभियन्ता सम्मानित, ११ ऐन पेश
बर्दघाट नगरपालिकाको १७औँ नगरसभामा पर्यटन विकासमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट चुरे उद्यान र श्रम हिलपार्कका अभियन्ताहरूका साथै नगरगानका रचयिता डिल्ली नारायण पाण्डेलाई नगद पुरस्कारसहित सम्मान गर्नुभयो । साथै, गोरेटो बाटो निर्माणमा श्रमदान गर्ने सशस्त्र युक्ति तालिम महाविद्यालय पनि सम्मानित भएको छ ।
सभामा उपप्रमुख रुद्र प्रकाश उपाध्यायले प्रगति प्रतिवेदन पेश गर्दै चालु आर्थिक वर्षको पुस २० गतेसम्म चार करोड ४६ लाख राजस्व सङ्कलन भएको र न्याय सम्पादनतर्फ ४३ प्रतिशत उजुरी समाधान भएको जानकारी दिनुभयो । सभामा ११ वटा विभिन्न ऐनहरू दफावार छलफलका लागि पेश गरिएका छन् ।
सुनवल नगरपालिकाः खर्च र राजस्वको समीक्षा, दुई कार्यविधि पारित
सुनवल नगरपालिकाको १८औँ नगरसभाले आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेको छ । नगर प्रमुख बिमला अर्यालको अध्यक्षतामा सम्पन्न सभामा कुल ९९ करोड २२ लाखको अनुमानित आयमध्ये पुससम्म ३५.१ प्रतिशत (३४ करोड ८१ लाख) निकासा भई प्रगति भएको विवरण पेश गरियो ।
सुनवलले यसपटक दुईवटा महत्वपूर्ण कार्यविधिहरू इ–रिक्सा सञ्चालन कार्यविधि र मेसिनरी औजार सञ्चालन तथा व्यवस्थापन कार्यविधि पेश गरिएका छन् । नगरपालिकाले पूँजीगततर्फ १५.३९ प्रतिशत मात्र खर्च भएको भन्दै आगामी छ महिनामा विकास निर्माणलाई तीव्रता दिने लक्ष्य लिएको छ ।
सरावल गाउँपालिकाः वित्तीय अनुशासन र संगठन सर्वेक्षणमा जोड
सरावल गाउँपालिकाको १७औँ गाउँसभाले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८२’ पारित गर्दै आर्थिक पारदर्शितामा जोड दिएको छ । गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीको अध्यक्षतामा भएको सभाले कर्मचारी संरचनालाई व्यवस्थित बनाउन संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन समेत पारित गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले ६ महिनाको अवधिमा २४.६८ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो। उपाध्यक्ष बासमति हरिजनले सङ्घीय कानुनसँग बाझिएका केही आर्थिक ऐनका दफाहरूलाई समयसापेक्ष बनाउन संशोधन प्रस्ताव पेश गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत पारित गरेको छ ।
यी तीनवटै स्थानीय तहको सभाले स्थानीय आवश्यकता अनुसारको कानुन निर्माण, पर्यटन प्रवर्धन र बजेटको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएका छन् । विशेषगरी बर्दघाटले पर्यटन र सम्मानलाई जोड दिएको छ भने सुनवल र सरावलले प्रशासनिक र कानुनी सुदृढीकरणलाई मुख्य एजेन्डा बनाएका छन् ।