• ३० पुस २०८२, बुधबार

जोखिम न्यूनीकरण गर्न पूर्वतयारी आवश्यक

blog

भूकम्प सुरक्षासम्बन्धी प्रदर्शनात्मक कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य ।तस्बिर : छवि पाण्डे

बुटवल समाचारदाता 

बुटवल (रुपन्देही), पुस ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न नवीनतम प्रविधि अवलम्बन गर्न आवश्यक रहेको बताउनुभएको छ ।  नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यु होराइजन स्कुल बुटवलको सहकार्यमा मङ्गलबार बुटवलमा आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षासम्बन्धी प्रदर्शनात्मक कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले विपत् पूर्वसूचना गरेर नआउने भएकाले पूर्वतयारी र सतर्कता सधैँ चुस्त राखिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयो, “यसलाई सिकाइका रूपमा लिन जरुरी छ । भावी दिनमा हुन सक्ने भूकम्पीय क्षति कम गर्न, भूकम्पबाट कसरी बच्ने र बचाउने भन्ने ज्ञान आत्मसात् गर्न आवश्यक छ ।” 

मुख्यमन्त्रीको भनाइ छ, “हामीले विगतमा धेरै क्षति बेहोरेका छौँ, भावी दिनमा क्षति दोहोरो नहोस् भन्ने उद्देश्यले सरकार सधैँ पूर्वसतर्कता र तयारीमा संवेदनशील भई काम गरिरहेको छ ।”

उहाँले आर्जित ज्ञानलाई सतर्कता र तयारीको काममा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थीले गरेको खोज तथा अनुसन्धानको प्रशंसा पनि गर्नुभयो । विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान विस्तार गर्दै जोखिम न्यूनीकरणका उपायप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यव्रmममा लुम्बिनी प्रदेशका करिब ३५ वटा विद्यालयका चार हजार विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको छ । नास्टका प्रविधि सङ्काय प्रमुख डा. सुरेशकुमार ढुङ्गेलले नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले विद्यालय तहदेखि नै वैज्ञानिक जानकारी र व्यावहारिक तयारी आवश्यक हुने बताउनुभयो । 

भूकम्पीय जोखिम न्यूनीकरणका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै उहाँले यस्ता प्रशिक्षणले विद्यार्थी तथा शिक्षकलाई वैज्ञानिक आधारमा बुझ्ने क्षमता विकास गर्ने र आपत्कालीन अवस्थामा सही निर्णय लिन मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभयो ।

न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभई जीवन उपयोगी ज्ञान सिक्ने स्थल भएकाले नास्टसँगको सहकार्यले विद्यार्थीमा भूकम्पीय सचेतना र व्यावहारिक सिप विकासमा ठुलो योगदान पुग्ने बताउनुभयो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प पूर्वतयारी र सही सूचना नै क्षति न्यूनीकरणको मूल आधार रहेको बताउनुभयो । भूकम्प कहिले आउँछ भन्ने थाहा नपाए पनि आउँदा कसरी सुरक्षित रहने भन्ने ज्ञान सिकाउन आवश्यक भएको उहाँको भनाइ छ ।