अमृतप्रसाद पौडेल
म्याग्दी, पुस ३० गते । चालु आर्थिक वर्ष २०८२/०८३ का लागि गत असारमा पारित भएको बजेट संशोधन गर्दै मालिका गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न भएको छ ।
मङ्गलबार गाउँपालिकाको केन्द्र दरवाङमा सम्पन्न गाउँसभाको हिउँदे अधिवेशनले पाँच करोड बराबरको बजेट संशोधन गरेको हो । गत आर्थिक वर्षमा खर्च हुन नसकेको चार करोड ८५ लाख ७५ हजार मौजुदा रहेको बजेटलाई विभिन्न कार्यक्रमहरुका लागि विनियोजन गर्दै गाउँसभा सकिएको हो ।
गत असारमा ४६ करोड दुई लाख तीन हजार विनियोजन गरेको बजेटलाई उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले बढाएर ५० करोड ८५ लाख ९८ हजार कायम गर्न प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावलाई गाउँसभाले पारित गरेको थियो ।
गाउँपालिकाको भौतिक पूर्वाधारका लागि बजेट प्राथमिकतामा राखिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । उहाँका अनुसार वडा नम्बर १ र ७ को भवन निर्माणका लागि जग्गा खरिद गर्न दुई करोड विनियोजन गरिएको छ । त्यसैगरी अधिभारा ताक्से मोटरबाटो स्तरोन्नतीका लागि एक करोड ३० लाख, डाँडागाउँ स्वास्थ्य चौकी भवनका लागि ५७ लाख ५० हजार, दरवाङ निस्कोट सडकका लागि २८ लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाको पुँजीगत खर्चको भौतिक तथा वित्तीय प्रगति शतप्रतिशत पुग्ने गरी काम गर्न सबैले भूमिका खेल्नु पर्ने गाउँसभामा अध्यक्ष गर्बुजाले धारणा राख्नुभएको थियो ।