• ३० पुस २०८२, बुधबार

जाजरकोटमा नौ सय ८२ जना निर्वाचन प्रहरी भर्ना गरिने

blog

जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन आएका युवायुवती । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा 
जाजरकोट पुस ३० गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीले दरखास्त दिन थालेका छन् ।  निर्वाचन सुरक्षाका लागि नौ सय ८२ जना निर्वाचन प्रहरी भर्ना हुने छन् । सरकारले निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी भर्नाको सूचना प्रकाशित गरेपछि दरखास्तका लागि प्रहरी कार्यालयमा भीड बढेको छ ।

निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यवविध २०८२ अनुसार माघ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बसन्तकुमार शर्माका अनुसार निर्वाचन प्रहरीका लागि दरखास्त दिने उम्मेदवारले फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने छ । जिल्ला प्रहरी कार्यालयले ८८२ जना, सशस्त्र प्रहरी बल नेपाल गुल्माबाट ९६ जनालाई छनोट हुने छन् ।

उहाँका अनुसार माघ १ गतेसम्म निर्वाचन प्रहरीमा भर्ना हुने मिति तोकिएको छ । अहिलेसम्म जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ८८२ जना  सशस्त्र प्रहरी बल नेपाल गुल्मा जाजरकोटमा ६५ जनाले आवेदन दिएका छन् । निर्धारित मितिसम्म करिव १२ सयभन्दा बढी दरखास्त आउने अनुमान गरिएको छ । निर्वाचन प्रहरी भर्ना एकीकृत कार्यविधि २०८२ ले तोके अनुसार नेपाली नागरिक हुनुपर्ने, सामान्य लेखपढ, फौजदारी अभियोग नलागेको सजाय नपाएको, राजनीतिक दलको सदस्य नभएको, शारिरिक मानसिक रुपमा स्वस्थ हुुनुपर्ने व्यवस्था छ ।  

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल मित्रराष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त सुरक्षाकर्मी सेवा निवृत्त बन रक्षक तथा हालै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल  नेपालका विभिन्न पदमा भर्नाका लागी दरखास्त दिइ शारीरिक रुपमा स्वस्थ, स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्रवेशपत्रका आधारमा प्राथमिकता दिने उहाँको भनाइ छ ।

निर्वाचन प्रहरीमा दरखास्त दिइ छनोटमा परेको निर्वाचन प्रहरीलाई माघ १३ देखि २४ गतेसम्म प्रशिक्षण दिने जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शर्माले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोटबाट निर्वाचन प्रहरीको दरखास्त लिएको छ ।