• ३० पुस २०८२, बुधबार

सडक पुनर्निर्माणको काम समयअगावै सकिने

blog

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्डमा रहेको पहिरो पन्छाइँदै । तस्बिर : केदार तिमल्सिना

बनेपा समाचारदाता

बनेपा (काभ्रेपलाञ्चोक), पुस ३० गते  । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण विस्तार हुन नसकेको अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको पुनर्निर्माणले गति लिएको छ । 

अरनिको राजमार्गको धुलिखेल–खावा सडकको काम आगामी १४ महिनामा सम्पन्न गर्नका लागि कात्तिक २४ गते सडक डिभिजन भक्तपुर र सिएम/एवान/काली जेभी काठमाडौँबिच सम्झौता भई सडक निर्माणको काम सुरु गरिएको हो ।

सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड पुनर्निर्माणको कामले गति लिएको बताउनुभयो । उहाँले निर्माण व्यवसायीसँग १४ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि सम्झौताभन्दा पहिले नै पुनर्निर्माण सक्ने गरी काम भइरहेको बताउनुभयो । “हामीले १४ महिनाभित्र सडक पुनर्निर्माणको काम सक्ने लक्ष्यका साथ काम सुरु गरे पनि चैत महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्ने गरी साना संरचना तथा टेवा पर्खाल निर्माण भइरहेका छन्,” सिनियर डिभिजनल इन्जिनियर योगेशले भन्नुभयो ।

उहाँले चिसो मौसमका कारण सडकमा सतह (सर्फेस) को काम नभएको र चिसो कम हुनेबित्तिकै सतहको काम गरेर चैतभित्र कालोपत्रे सक्ने बताउनुभयो । कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य सानातिना काम गरिने सिनियर डिभिजनल इन्जिनियर योगेशले बताउनुभयो । उहाँले सडकको भौगोलिक अवस्थाभन्दा पनि पहिलाको निर्माण व्यवसायीले काम नगरेका कारण ढिलाइ भएको बताउनुभयो ।

यसअघि धुलिखेलदेखि खावासम्मको सडक पुनर्निर्माणको ठेक्का पाएको निर्माण व्यवसायीले सडक विस्तारका लागि अधिकांश स्थानमा सडक कटिङको काम सकिएकाले कटिङ गर्न बाँकी रहेको स्थानमा ड्रेन राख्नका लागि मात्रै कटिङको काम गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ । सिडिई योगेशले धुलिखेलदेखि खावासम्मको सडक सात मिटर चौडाइको बन्ने बताउँदै सडकमा रहेका पहिरो व्यवस्थापनका लागि नयाँ प्रविधिको प्रयोग गरिने बताउनुभयो । 

सिडिई योगेशले सडकमा रहेको पहिरो व्यवस्थापनका लागि पहिलाको डिजाइनमा समावेश नभएको स्वायल नेलिङ, जुट नेटिङ, सर्फेस ड्रेनेज (भित्री भागको पानीलाई पाइपको माध्यमबाट पानी बाहिर निकाल्ने काम) लगायतका केही नयाँ काम गरिने जानकारी दिनुभयो । 

धुलिखेलदेखि खावासम्मको सडक निर्माणका लागि सिएम/एवान/काली जेभी काठमाडौँसँग ३१ करोड ५६ लाख रुपियाँको सम्झौता भएको हो । यसअघि सम्झौता भएको २२ महिनाभित्र सडक विस्तारको काम सम्पन्न गर्ने गरी धुलिखेलदेखि खावासम्मको ४.१५ किलोमिटर सडक विस्तार गर्नका लागि सडक डिभिजन भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबिच २०७९ जेठ २० गते ठेक्का सम्झौता भएको थियो । उक्त निर्माण कम्पनीले पटक पटक म्याद थप गर्दासमेत सन्तोषजनक काम नगरेपछि डिभिजनले २०८१ फागुन १५ गते निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।