चन्द्र पन्दाक
ताप्लेजुङ, पुस २९ गते। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीमा युवा पुस्ताको आकर्षण देखिएको छ। ताप्लेजुङमा हाल भइरहेको निर्वाचन प्रहरी भर्नाअन्तर्गत आवेदन (दरखास्त) दिनेमा युवा पुस्ताको आकर्षण देखिएको हो।
गएको शुक्रबारदेखि देशभर निर्वाचन प्रहरी भर्ना सुरु भएको छ। सोही क्रममा ताप्लेजुङमा निर्वाचन प्रहरीमा आवेदन दिने अधिकांस युवा पुस्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार निर्वाचन प्रहरीमा भर्ना हुन चाहाने अधिकांस युवा पुस्ता रहेका छन्।
क्षणिक समयलाई भए पनि रोजगारीको अवसर आएकोभन्दै युवा पुस्ताले निर्वाचन प्रहरीका लागि आवेदन दिने गरेको पाइएको छ। बेरोजगार भएर बस्दै अवस्थामा निर्वाचन प्रहरीमा भर्ना खुलेपछि आवेदन दिएको आठराई त्रिबेणी–४ की बिना लिम्बूले बताउनुभयो। निर्वाचन प्रहरी भई तोकिएको जिम्मेवारी पूरा गर्ने र काम गरेबापत प्राप्त हुने पारिश्रमिकले थोरै भए पनि घर खर्च चलाउने सोचसहित आवेदन दिएको लिम्बूले बताउनुभयो।
लिम्बूजस्तै निर्वाचन प्रहरी हुनलाई आवेदन दिने अधिकांसले घरायसी खर्च चलाउनलाई सहयोग पुग्ने अपेक्षा राखेरै आवेदन दिएको बताएका छन्। निर्वाचन प्रहरीमा छनोट भएमा हाल सरकारले तोकेको ४० दिन सम्मका लागि भए पनि काम गर्ने र काम गरेबापत अर्थात निर्वाचन प्रहरी भएर प्राप्त हुने पारिश्रमिक रकमले घर खर्च लगायतमा सहयोग पुग्ने उनीहरुको भनाइ छ।
यता निर्वाचन प्रहरीमा भर्ना खुलेदेखि मङ्गलबार सम्ममा ४०१ जनाले मात्र आवेदन दिएका छन्। मङ्गलबारसम्म पाँच दिनमा यस जिल्लाका लागि तोकिएको निर्वाचन प्रहरीको कोटा ८९२ रहेको र हालसम्म आवेदन दिनेको सङ्ख्या आधाभन्दा कम रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिनुभयो।
प्रहरी निरीक्षक यादवका अनुसार जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाबाट निर्वाचन प्रहरी भर्नाका लागि गत शुक्रबारदेखि आवेदन लिन थालिएको हो। तोकिएको कोटाको कूल सङ्ख्यामध्ये प्रशस्त्र प्रहरी गुल्मबाट ४६ जना र जिल्ला प्रहरी कार्यालयबाट ८४६ जना निर्वाचन प्रहरी छनोट गर्ने गरी आवेदन खुलाइएकोमा मङ्गलबारसम्म सशस्त्र प्रहरी गुल्ममार्फत ११ जनाले आवेदन दिएका छन्।
त्यस्तै जिल्ला प्रहरी कार्यालयमार्फत ३९० जनाले आवेदन दिएका छन्। अब आवेदन दिने म्याद दुई दिन बाँकी रहेको र उक्त अवधिमा जिल्लाका लागि तोकिएको कोटाअनुसार आवेदनको सङ्ख्या पुग्ने अपेक्षा राखिएको प्रहरी निरीक्षक यादवले बताउनुभयो। माघ १ गते बिहीबारसम्म आवेदन लिने र त्यसपछि माघ ४ देखि ९ गतेसम्म छनोटको प्रक्रिया सञ्चालन हुने छ।
निर्वाचन प्रहरीको अन्तिम नजिता माघ १२ गते प्रकाशित हुने र छनोट भएकाहरुलाई माघ १५ देखि २४ गतेसम्म प्रशिक्षण (तालिम) प्रदान गर्ने कार्यतालिका रहेको छ। प्रशिक्षण सम्पन्न भएपछि निर्वाचनमा मतदान स्थल र मतदान केन्द्रमा प्रहरीसँगै निर्वाचन प्रहरी खटिने बताइएको छ। विगतका तुलनामा जिल्लामा यसवर्ष निर्वाचन (म्यादी) प्रहरीका लागि आवेदन दिनेको सङ्ख्या भने कम देखिएको छ।