• २९ पुस २०८२, मङ्गलबार

त्रिशूलीमा हराएको गणपति डिलक्स भेटियो

blog

त्रिशूली नदीकिनारमा गाडिएको अवस्थामा फेला परेको बस खोतल्दै प्रहरी । तस्बिर : शालिग्राम नेपाल

काठमाडौँ, पुस २९ गते । त्रिशूली नदीमा १८ महिना अगाडि हराएको गणपति डिलक्स बस फेला परेको छ । 

सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाका अनुसार बालुवाले पुरिएको अवस्थामा उत्खनन् गर्दै जाँदा गणपति डिलक्स लेखिएको बस मङ्गलबार फेला परेको हो ।

प्रहरीले पुस २८ गते सोमबार त्रिशूली नदीमा गाडिएको बस देखेपछि खोतल्ने काम सुरु गरेको थियो । 

प्रवक्ता थापाले भन्नुभयो, “पुरिएको अवस्थामा रहेको बसको उत्खनन् गर्ने कार्य जारी छ । जुन बस थियो त्यो गणपति डिलक्स भएको यकिन भएको छ ।” यसबाहेक उक्त बस सम्बन्धमा थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ । 

१८ महिना अगाडि चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत सिमतालबाट पहिरोले दुई वटा बस नदीमा खसालेर बेपत्ता बनाएको थियो । 

वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश- ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडाैँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४१५ नम्बरको गणपति डिलक्स बसलाई लेखोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा खसालेको थियो ।