• २९ पुस २०८२, मङ्गलबार

राष्ट्रिय वाणिज्य बैंकको २० औँ साधारणसभा

संस्थागत सुशासन पहिलो प्राथमिकतामा : अध्यक्ष ढकाल

blog

राष्ट्रिय वाणिज्य बैँक लिमिटेडको २० औँ वार्षिक साधारण सभामा बैँक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालसहित ।

काठमाडौँ, पुस २९ गते । राष्ट्रिय वाणिज्य बैँक लिमिटेडको २० औँ वार्षिक साधारण सभा मङ्गलबार काठमाडौँमा सम्पन्न भएको छ । बैँक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति लगायतका विभिन्न प्रस्ताव पारित गरेको छ ।

साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बैँकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै व्यवसाय विस्तार गरिरहेको बताउनु भयो ।

उहाँले समय सापेक्ष सेवा–सुविधामा परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवामार्फत ग्राहकलाई गुणस्तरीय सेवा प्रवाह गर्न बैँक निरन्तर क्रियाशील रहेको उल्लेख गर्नु भयो । 

बैँकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धालाई सामना गर्न प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिमा समयानुकुल सुधार गर्दै आएको उहाँको भनाइ थियो ।

साधारण सभामा बैँकका शेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण शेयरधनीहरूको उपस्थिति रहेको थियो । 

अध्यक्ष ढकालद्वारा प्रस्तुत प्रतिवेदनमाथि शेयरधनीहरूले टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए, जसको जवाफ अध्यक्ष ढकालले दिनु भएको थियो ।

सभामा सञ्चालक समिति सदस्यहरू थानप्रसाद पञ्ज्ञानी, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे, प्राडा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना, हरिकुमार सिलवाल, बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापालगायतको उपस्थिति रहेको थियो । 

साथै बाह्य लेखापरीक्षक, कानुनी सल्लाहकार, कर्मचारी युनियनका प्रतिनिधि, विभागीय प्रमुख तथा अन्य अतिथि पनि सहभागी थिए । साधारणसभाको सञ्चालन कम्पनी सचिव प्रमोद अधिकारीले गर्नु भएको थियो ।

बैँकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रहरूमा समेत ३१२ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखारहित बैँकिङ सेवामार्फत आधुनिक बैँकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।