सिराज खान
नेपालगन्ज, पुस २९ गते । निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निष्पक्ष निर्वाचन लोकतन्त्रको आत्म भएको बताउनु भएको छ ।
नेपालगन्जमा आयोजित दुईदिने ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रम मङ्गलबार सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
लुम्बिनी, कर्णाली र सुदुरपश्चिम गरेर तीन वटा प्रदेशका जिल्ला निर्वाचन अधिकृतहरूका लागि नेपालगन्जमा आयोजना गरिएको सो कार्यक्रमको समापन निर्वाचन आयोगका आयुक्त तुलाधरले सम्बोधन गर्नु भएको हो । उहाँले लोकतन्त्रको आत्मा भनेकै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचन भएको प्रष्ट पार्नु भयो ।
समापन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ, रूपन्देहीका निर्वाचन अधिकृत अशोककुमार बस्नेत र कन्चनपुरका निर्वाचन अधिकृत हरिशचन्द्र जोशीले यो प्रशिक्षणले निर्वाचन सम्बन्धी धेरै व्यवहारिक ज्ञान प्रदान गरेको बताउनु भयो ।
दुई दिनसम्म सञ्चालन भएको सो अभिमुखीकरणमा तीन वटा प्रदेशका ६६ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल सरकारका सचिव पारासर ढुङ्गाना, सहसचिव सुभासकुमार भट्टराई तथा श्रोत व्यक्ति वीरेन्द्रकुमार मिश्र र कोमलप्रसाद धमलाले प्रशिक्षण दिनु भएको निर्वाचन आयोगका शाखा अधिकृत तुलसीराम भगतले बताउनु भयो ।

कार्यक्रममा निर्वाचनको संवैधानिक तथा कानुनी व्यवस्था, आर्थिक, सुरक्षा व्यवस्थापन र मतदाता शिक्षा लगायतका निर्वाचनका विविध पक्ष, निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधि, मतदान र मतगणना सम्बन्धी प्रक्रिया तथा प्रतिवेदनबारे विज्ञले प्रशिक्षण दिनु भएको थियो ।