राजु लामिछाने
रुकुमपश्चिम, पुस २९ गते। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले विभिन्न अपराधका घटनाबाट पीडित व्यक्तिका गुनासो र सुझाव सुनुवाइका लागि अन्तरक्रिया गरेको छ।
मङ्गलबार जिल्ला प्रहरी कार्यालयमा जिल्लाका विभिन्न स्थानबाट सहभागी पीडितबिच छलफल तथा अन्तरक्रिया गरिएको हो। नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो पटक विभिन्न अपराधबाट पीडित भएका व्यक्तिसँग अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रहरीले विभिन्न घटना तथा मुद्दाहरु उपर अनुसन्धान तथा कारबाही गर्ने क्रममा गरेको काम र व्यवहार पीडितलाई कस्तो लाग्यो ? प्रहरी गतिविधि कस्ता रहे ? भनेर जानकारी लिन र गुनासो तथा सुझाव भए सुधारका लागि संकलन गर्ने उद्देश्यले अपराधपीडितसँग अन्तरक्रिया गरिएको हो।
विभिन्न मुद्दाका पीडितको प्रहरीप्रतिको धारणा तथा बुझाई बुझ्न तथा उनीहरुको प्रतिक्रियाबाट प्रहरी योजना बनाउन, गुनासो सम्बोधन गर्न यो कार्यक्रम गरिएको डिएसपी विष्टले बताउनुभयो।
कार्यक्रममा पीडितले विभिन्न जिज्ञासा समेत राखेका थिए। अपराधका घटनामा संलग्न धरौटीमा छुटेको, पुर्पक्षका लागि कारागार चलान भएको, थुनामा रहेको, फैसला भएको जस्ता विषयमा पीडितले जिज्ञासा राखेका थिए।
अन्तरक्रिया कार्यक्रममा सवारी दुर्घटना, जबरजस्ती करणी, लैङ्गिक हिंसा, बहुविवाह, अभद्र व्यवहार लगायतका घटनाका पीडित सहभागी थिए। अन्तरक्रिया तथा छलफलमा २५ जना पीडितले सहभागीता जनाएका थिए। जिल्ला प्रहरी कार्यालयले नागरिकका अन्य गुनासा सुनुवाइका लागि समेत विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ।