पेरिस, पुस २९ गते । फ्रान्सेली किसानले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु) को व्यापार सम्झौताप्रति कडा आपत्ति जनाउँदै मङ्गलबार करिब ३५० ट्रयाक्टरसहित राजधानी पेरिसको सडक हुँदै संसद भवनसम्म प्रदर्शन गरेका छन् । किसानका अनुसार उक्त सम्झौताले उनीहरूको जीविकोपार्जन र घरेलु कृषि प्रणालीलाई गम्भीर खतरा पुर्याउने डर छ ।
प्रहरीले अगाडि-पछाडि सुरक्षा दिएर ट्रयाक्टर चलाइएका कारण च्याम्प्स-एलिसीजसहित पेरिसका ठूला सडकमा सवारी आवागमन ढिलो भयो र भिडको समयमा ट्राफिक जाम भएको थियो । पछि ती ट्रयाक्टर सेन नदी पार गर्दै राष्ट्रिय सभा भवनसम्म पुगेका थिए । फ्रान्ससहित अन्य युरोपेली मुलुकमा पनि किसानको असन्तोष पछिल्ला महिनामा तीव्र हुँदै गएको छ ।
बढ्दो उत्पादन लागत, घट्दो आम्दानी, कडा वातावरणीय नियम र अन्तर्राष्ट्रिय व्यापार सम्झौताका कारण किसान थप दबाबमा परेको उनीहरूको गुनासो छ । मङ्गलबारको प्रदर्शनको नेतृत्व गरिरहेका किसान युनियनले फ्रान्सको खाद्य सुरक्षाको रक्षा गर्न सरकारबाट ‘ठोस र तत्काल कदम’ चाल्न माग गरेका छन् ।
फ्रान्सेली सरकारकी प्रवक्ता मौड ब्रेजनले मङ्गलबार टिएफ-१ टेलिभिजनसँग कुरा गर्दै सरकारले किसानको अवस्थालाई ध्यानमा राख्दै चाँडै नयाँ सहयोग सम्बन्धी घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । राष्ट्रपति इमानुएल म्याक्रोन र उहाँको सरकारले इयु र दक्षिण अमेरिकी मर्कोसुर समूहबिचको व्यापार सम्झौताको विरोध गर्दै आएको छ ।
यद्यपि, अधिकांश इयु सदस्य राष्ट्रको समर्थनका कारण उक्त सम्झौता शनिबार पाराग्वेमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । युरोपेली किसानले लामो समयदेखि ब्राजिल, अर्जेन्टिना, बोलिभिया, पाराग्वे र उरुग्वेलगायत मर्कोसुर राष्ट्रसँगको व्यापार सम्झौताको आलोचना गर्दै आएका छन् । उनीहरूको भनाइमा यस्तो सम्झौताले युरोपेली बजारमा सस्तो आयातको बाढी ल्याएर स्थानीय किसानको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउने छ र कृषि क्षेत्रलाई दीर्घकालीन रूपमा क्षति पुर्याउने छ । रासस/एपी