• २९ पुस २०८२, मङ्गलबार

प्रधानमन्त्रीको प्रेस सल्लाहकार रावल नियुक्त

blog

प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा नियुक्त हुनुभएका पत्रकार रामबहादुर रावल ।

काठमाडौँ, पुस २९ गते । सरकारले प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले भन्नुभयो, 'सम्माननीय प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।’

यसअघि रावल प्रधानमन्त्री कार्कीको प्रेस संयोजक नियुक्त हुनुभएको थियो । नेपाल खबर डटकमका सम्पादक रावल राजीनामा दिएर प्रधानमन्त्रीको संयोजक हुनुभएको हो । 

दृष्टि साप्ताहिकबाट पत्रकारिता प्रारम्भ गर्नुभएका रावलले नेपाल एफएम हुँदै कान्तिपुरको नेपाल म्यागजिन, कान्तिपुर टेलिभिजनमा समाचार को–अर्डिनेटर र ग्यालेक्सी फोरके टेलिभिजनको सम्पादक भएर काम गर्नुभएको थियो । पत्रकारिता क्षेत्रमा झन्डै दुई दशक काम गर्नुभएका रावल २०४० सालमा बाजुराको मार्तडीमा जन्मनुभएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रावलले कानुनमा समेत स्नातक गर्नुभएको छ ।