सिराज खान
नेपालगन्ज, पुस २९ गते । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मङ्गलबार नेपालगन्ज रङ्गशालाको स्थलगत निरीक्षण भ्रमण गर्नु भएको छ ।
उक्त अवसरमा उहाँले रङ्गशाला र सो परिसरमा रहेका खेलकुद संरचनाहरू फुटबल मैदान, स्विमिङ पुल, कभर्ड हल तथा सुटिङ रेन्जको अवलोकन गर्नु भयो ।
साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले नेपालगन्ज रङ्गशालामा विद्यमान विभिन्न समस्या, साथै भौतिक पूर्वाधार सुधार तथा नयाँ निर्माणको आवश्यकताबारे मन्त्री गुप्तालाई विस्तृत जानकारी गराउनु भयो ।
रङ्गशालामा रहेका करोडौंका पुर्वाधारको संरक्षण तथा रेखदेखमा बजेट अभावले समस्या भएको पनि प्रमुख चन्दले मन्त्रीलाई जानकारी गराउनु भयो ।
त्यसैगरी, सोही अवसरमा क्षेत्रीय प्रशिक्षण प्रमुख जयन्त श्रेष्ठले क्षेत्रीय खेलकुद गतिविधि तथा विकासका विषयमा मन्त्रीलाई जानकारी गराउनु भयो ।
निरीक्षणपछि सम्बोधन गर्दै मन्त्री गुप्ताले रङ्गशालामा रहेका भौतिक पूर्वाधारहरूको संरक्षणसँगै खेलकुद गतिविधिलाई पनि निरन्तरता दिन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उहाँले खेलकुदको विकासका लागि सरकारले आवश्यक कामहरू गरिरहेको जनाउँदै खेलाडीलाई बढी भन्दा बढी प्रशिक्षण र सुविधा दिनु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा साबिक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकीले नेपालगन्ज रङ्गशालाको भौतिक पूर्वाधार विकास तथा निर्माण कार्यलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको थियो ।