वासिङ्टन, पुस २९ गते । जर्मनीका शीर्ष कूटनीतिज्ञले सोमबार डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बारको धम्कीका बाबजुद त्यहाँ अमेरिकी आक्रमणको सम्भावनालाई न्यून आकलन गरेका छन् ।
राष्ट्रपति ट्रम्पले वर्षौदेखि आर्कटिक क्षेत्रमा अवस्थित ग्रिनल्यान्डलाई खरिद गर्ने वा अमेरिकामा विलय गर्ने विचार सार्वजनिक रूपमा व्यक्त गर्दै आउनुभएको छ । यसै साता उहाँले संयुक्त राज्य अमेरिकाले ‘कुनै न कुनै तरिकाले’ यो क्षेत्र आफ्नो नियन्त्रणमा लिने भन्दै अभिव्यक्ति दिएपछि कूटनीतिक तनाव थप चुलिएको छ ।
ट्रम्पले एकपक्षीय सैन्य कदम चाल्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले आफूसँग ‘यसलाई गम्भीरताका साथ लिइरहेको कुनै सङ्केत नभएको’ स्पष्ट पार्नुभयो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै उहाँले आर्कटिक क्षेत्रमा उत्पन्न हुने सुरक्षा चुनौती सबैको साझा चासोको विषय भएको बताउनुभयो ।
“म विश्वास गर्दछु कि आर्कटिक क्षेत्रमा देखिने सुरक्षासम्बन्धी विषय समाधान गर्न साझा चासो छ र हामीले त्यस दिशामा काम गर्नुपर्छ र गर्नेछौँ”, मन्त्री वाडेफुलले भन्नुभयो । उहाँका अनुसार नेटो यस विषयमा थप ठोस योजना विकास गर्ने प्रक्रियामा छ, जसबारे अमेरिकी साझेदारसँग छलफल गरिनेछ ।
यो अभिव्यक्ति यसै हप्ता वासिङ्टनमा अमेरिकी विदेशमन्त्री रुबियो, डेनमार्क र ग्रिनल्यान्डका शीर्ष कूटनीतिज्ञबिच हुने वार्ताअघि आएको हो । यसैबिच, ग्रिनल्यान्डको सरकारले सोमबार पुनः स्पष्ट गर्दै ‘कुनै पनि परिस्थितिमा’ अमेरिकी अधिग्रहण स्वीकार नहुने जनाएको छ ।
अमेरिकी काङ्ग्रेसका सदस्यले पनि सोमबार जारी गरेको विज्ञप्तिमा स्विट्जरल्यान्डको डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चमा सहभागी हुने क्रममा एक प्रतिनिधिमण्डल शुक्रबार र शनिबार कोपेनहेगन जाने जानकारी दिएका छन् । डेमोक्रेटिक सिनेटर क्रिस कुन्सले विज्ञप्तिमा प्रतिनिधिमण्डलले व्यापारिक तथा सरकारी नेतासँग भेट गरी ‘आर्कटिक सुरक्षालाई सुदृढ पार्ने र बलियो व्यापारिक सम्बन्ध प्रवर्धन गर्ने’ विषयमा छलफल गर्ने बताउनुभयो ।
त्यसै गरी, रिपब्लिकन सिनेटर थोम टिलिसले काङ्ग्रेसले सहयोगी राष्ट्रको समर्थन गर्नु र डेनमार्क तथा ग्रिनल्यान्डको सार्वभौमिकताको सम्मान गर्नुमा एकजुट हुनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । ग्रिनल्यान्ड र नाटोले सोमबार नै आर्कटिक क्षेत्रको रक्षा प्रणाली थप बलियो बनाउन संयुक्त रूपमा काम गरिरहेको जानकारी दिएका छन् । यही सुरक्षा चासोलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले आर्कटिक क्षेत्रमा बढ्दो रूसी र चिनियाँ गतिविधिलाई ग्रिनल्यान्डमाथि अमेरिकाको नियन्त्रण आवश्यक हुने कारणका रूपमा बारम्बार उल्लेख गर्दै आउनुभएको छ । रासस/एएफपी