दुबई, पुस २७ गते । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य हस्तक्षेपको सङ्केत गरेपछि कडा चेतावनी दिएको छ । इरानी संसद्का सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार संसदमा सम्बोधन गर्दै अमेरिकाले इस्लामिक गणतन्त्रविरुद्ध आक्रमण गर्याे भने अमेरिकी सेना र इजरायल दुवै ‘वैध लक्ष्य’ बन्ने बताउनुभयो ।
यो टिप्पणीसँगै इरानले सम्भावित जवाफी कारबाहीको सूचीमा पहिलो पटक खुलेर इजरायललाई पनि समेटेको छ । संसद् बैठकका क्रममा केही सांसद मञ्चतर्फ उक्लिँदै ‘अमेरिका मूर्दावाद !’ भन्ने नारा लगाएका थिए, जसलाई कालिबाफले समर्थनपूर्ण चेतावनीका रूपमा प्रस्तुत गर्नुभयो । उहाँको भनाइ अमेरिकी राष्ट्रपति ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमन भए हस्तक्षेप गर्न सक्ने चेतावनी दिएलगत्तै आएको हो ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य विकल्पबारे जानकारी गराइए पनि अन्तिम निर्णय भइसकेको छैन । यसैबिच, इरानको नेतृत्वले देशभित्रको अशान्तिलाई बाह्य शक्तिद्वारा उक्साइएको दाबी गर्दै सुरक्षा निकायलाई कडा कदम चाल्न तयार रहन निर्देशन दिएको छ । इरान र अमेरिकाबिच बढ्दो तनावले मध्यपूर्व क्षेत्रमा थप अस्थिरता निम्त्याउने चिन्ता अन्तर्राष्ट्रिय स्तरमा व्यक्त हुन थालेको छ । रासस/एपी