इमान सिं राना
रामपुर (पाल्पा), पुस २७ गते । पाल्पामा ३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । रामपुर नगरपालिका-६, विजयपुरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसहित सलामी अर्पण गरी आइतबार दिवस मनाइएको हो ।
ठकुरी दर्शन समाज जिल्ला कार्यसमिति पाल्पाको अगुवाइमा भएको कार्यक्रममा नेपाली सेनाको दि फेमस महिन्द्र दल गुल्म रामपुरको एक टुकडीले सलामी अर्पण गरेको हो । त्यसअघि भेषभूषमा सजिएका ठकुरी समुदायका विभिन्न समूह र नेपाली सेनाले विजयपुर बजार, बुद्ध पार्क र्यालीसहित परिक्रमा गरेको थियो । कार्यक्रममा ठकुरी सहयोग सञ्जाल, ठकुरी दर्शन समाज रामपुर नगर समिति, ईकाई समिति,नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ रामपुरसहित अभियन्ताहरूको पनि सहभागिता थियो ।
नेपाली सेनाको सलामी अर्पणपश्चात् सालिकमा माल्यार्पण गर्दै ठकुरी दर्शन महासङ्घका केन्द्रीय सदस्य लोकेन्द्रबहादुर मल्लले पृथ्वीनारायण शाहको योगदानकै कारण आज हामी नेपाली हौं भनेर गर्व गर्ने अवसर प्राप्त गरेको बताउनुभयो । शाहले नेपालको भूगोलसँगै समुदायलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ठकुरी दर्शन समाज जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष हिमाल मल्लले पृथ्वीनारायण शाहले राष्ट्र निमार्णमा महत्वपूर्ण योगदान दिएको भए पनि पृथ्वीजयन्ती ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेपाल एकीकरणमा खेलेको भूमिका तथा इतिहासको रक्षाका लागि समाजले कार्यक्रम गर्दै आएको बताउनुभयो ।
ठकुरी सहयोग सञ्जाल पाल्पाका उपाध्यक्ष बोमबहादुर शाहीले राष्ट्रिय एकता दिवस सबै जातजाति र भाषा संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण दिन भएको बताउनुभयो । कार्यक्रममा पाल्पा, स्याङ्जाका विभिन्न स्थानका ठकुरी समाजका पदाधिकारीको उपस्थिति थियो ।