राजकुमार भट्टराई
खोटाङ, पुस २७ गते । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारको सडक ढलान सकिएको छ । जिल्लाको प्रमुख ब्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको कार्यले ७ वर्षमा पूर्णता पाएको हो ।
दिक्तेल बजारको सडक ढलानको लागि पहिलो पटक २०७६ सालमा बजेट विनियोजन भएको थियो । पुरै सडक ढलानका लागि अपुरो बजेट विनियोजन हुँदा ७ वर्षमा सडक ढलानले पूर्णता पाएको हो । दिक्तेल बजारको रत्नपार्कदेखि हाडडाँडासम्म सडक ढलान भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने छैन् ।
कुनै समय हिलोका कारण हिड्नसमेत नसकिने दिक्तेल बजारको सडकले सबैलाई सास्ती दिएको दिक्तेलका प्रेमकुमार श्रेष्ठ बताउनुहुन्छ । लामो समयको प्रतिक्षा पश्चात पुरै सडक ढलान हुँदा दिक्तेलको मुहार फेरिएको श्रेष्ठको भनाइ छ ।
साँघुरो, हिलाम्मे र धुलाम्मे जिल्ला सदरमुकाम दिक्तेलको सडक ६ चरणको बजेटले पुरै ढलान भएको हो । बाँकी रहेको शङ्खधर साख्वा चोकदेखि भानुचोकसम्मको सडक ढलानको काम पुस २७ गते आइतबार बिहान सम्पन्न भएसँगै सडक ढलानले पूर्णता पाएको हो ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार कार्यालय खोटाङको मूल्य अभिवृद्धि कर तथा पिएससहित ९५ लाख ८५ हजार ७८ लागतमा फास्ट एण्ड फास्ट कन्ट्रक्सन प्रालिले बाँकी रहेको सडक ढलानको काम गरेको हो ।
वि.सं. २०८२ चैत २२ गतेभित्र सम्पन्न गर्नेगरी २०८२ मङ्सिर २२ गते सडक ढलानको सम्झौता गरिएको थियो । सम्झौता भएको भोलिपल्टबाटै तीव्रगतिमा निर्माण कम्पनीले सुरु गरेको सडक ढलानको काम सम्झौता मितिभन्दा करिब ३ महिना अगाडि नै सकिएको छ ।
जिल्लाको सदरमुकामको मुहार सडक ढलानले फेरिएको भन्दै अहिले जिल्लाबासी हर्षित भएका छन् । धेरै वर्षअगाडि उक्त सडक ढलान हुनुपर्ने नागरिकको भनाइ छ । विकासले पछिपरेको खोटाङको जिल्ला सदरमुकामको सडक ढिलै भए पनि ढलान सम्पन्न हुँदा खुशी लागेको दिक्तेलका जब्बर विश्वकर्माले बताउनुभयो ।
दिक्तेल बजारको बाँकी सडकखण्ड यसअघि नै ढलान भइसकेको थियो । बजारको सडक ढलान सुरु भएको लामो समयसम्म पनि पुरै सडक ढलान नहुँदा जिल्लाको नेतृत्वकर्तालाई गिज्याइरहेको थियो । कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बजेट विनियोजन गरिदिएपछि बजारको सडक ढलानले पूर्णता पाएको हो ।
दिक्तेल बजारबासी समेत रहनुभएका निर्माण कम्पनीका प्रबन्ध निर्देशक ध्रुब श्रेष्ठले सम्झौता समय अगाडि नै काम सम्पन्न गर्नुभएको छ । जिल्लाको सदरमुकामको सडकमा अब कसैले सास्ती भोग्नु नपर्ने उहाँको भनाइ छ ।